काठमाण्डौ । आन्दोलनकारीको आगजनीबाट क्षतिग्रस्त सडक विभाग ललितपुरस्थित चाकुपाटमा सारिएको छ । यस्तै विभागमा रहेका अन्य महाशाखा तथा कार्यालय पनि विभिन्न स्थानमा सारिएको विभागले जनाएको छ ।
विभागका अनुसार संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डौ, पुल सेक्टर काठमाण्डौ, काठमाण्डौ चक्रपथ सुधार योजना, नागढुंगा सुरुङमार्ग आयोजना, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय हाल सडक विभाग बबरमहलको क्षति नभएको भवनबाट सञ्चालनमा ल्याइनेछ ।
यस्तै यान्त्रिक महाशाखा, यान्त्रिक तालिम केन्द्र र मदन भण्डारी राजमार्ग योजना निर्देशनालय पाटनढोकास्थित साविकको यान्त्रिक तालिम केन्द्र रहेको भवनबाट सञ्चालन गर्ने भएको छ । यसैगरी विकास सहायता कार्यान्वयन महाशाखा पाटनढोकास्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको पुरानो भवनबाट सञ्चालन गर्ने तयारी भएको छ । हुलाकी राजमार्ग आयोजना निर्देशनालय विशालनगर स्थित रेल विभागबाट संचालन गर्न रेल विभागसँग अनुरोध गर्ने जनाएको छ ।
उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय काठमाण्डौ डिभिजन परिसरमा रहेको सूर्यविनायक-धुलिखेल सडक योजनाले प्रयोग गरेको स्थानबाट सञ्चालन गरिने भएको छ । कान्ति लोकपथ योजना कार्यालयलाई हाल पानीजहाज कार्यालय रहेको एकान्तकुनास्थित भवनबाट सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन पानीजहाज कार्यालयलाई अनुरोध गर्ने तयारी छ ।