काठमाण्डौ । सांग्रिला हस्पिटालिटी ग्रुपले चितवनको मेघौलीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण गरेको छ । ग्रुपले लस्ट होराइजन सफारी रिसोर्ट एन्ड स्पा निर्माण सम्पन्नको अन्तिम तयारी गरिरहेको छ ।
कम्पनीले चितवनको मेघौलीमा लक्जरी होटल/रिसोर्ट निर्माण गरिरहेको छ । जुन नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन नेशनल पार्कको नजिक अवस्थित छ । यस परियोजनाका लागि कम्पनीले बेलायतको इन्टर कन्टिनेन्टल होटल ग्रुप (आईएचजी)सँग मार्केटिङ र म्यानेजमेन्ट सम्झौता गरेको छ । यो विश्वका प्रमुख होटल समूहहरूमध्ये एक हो ।
यस रिसोर्टमा ३८ प्लस २ (स्वीट) कोठाहरू रहनेछन् । दोस्रो चरणमा थप ४० लक्जरी कोठा निर्माण गर्ने योजना कम्पनीको छ । जुन डिसेम्बर २०२६ सम्म सो काम पूरा गर्ने लक्ष्य कम्पनीको छ । अहिले रिसोर्टको भौतिक कामहरं सम्पन्न भए पनि मेकानिकल, विद्युतीय तथा प्लम्बिङ र फिनिसिङ कार्यहरू जारी छन् । सुरुमा यो परियोजना निर्माणका लागि १ अर्ब २९ करोड ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिए पनि अहिलेसम्म लागत ४९ प्रतिशत बढेर कुल १ अर्ब ९२ करोड ६० लाख रुपैयाँ पुगेको बताइएको छ ।
कामको सुस्सताले लागत पनि बढेको बताइएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले नयाँ लागत संरचना अनुसार ऋण–इक्विटी अनुपात करिब ७२ः२८ रहेको उल्लेख गरेको छ । सन् २०२५ जुनसम्म आवश्यक इक्विटीको करिब ५६ प्रतिशत अर्थात् ३० करोड रुपैयाँमात्र लगानी भइसकेकाले वित्तीय जोखिम मध्यम रहेको इक्राले विज्ञप्तिमा उल्लेख गरेको छ । कम्पनीले ९३ करोड ३० लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेको छ । जसका लागि कम्पनीले दीर्घकालीन ऋणका लागि एलबी प्लस र खल्पकालिन ऋणका लागि ए फोर रेटिङ पाएको छ ।
चितवनको मेघौली क्षेत्रमा धेरै होटलहरू सञ्चालनमा आइसकेकाले प्रतिस्पर्धा तीव्र हुँदै गएको विज्ञप्तिमा उल्लेख छ । ऋण भार कम भएका पुराना र स्थापित होटलहरूले मूल्यमा दबाब सिर्जना गर्न सक्ने भएकाले नयाँ परियोजनाको अफटेक जोखिम बढ्न सक्ने रेटिङ एजेन्सीको भनाइ छ । सांग्रिला हस्पिटालिटी ग्रुपले काठमाडौं र पोखरामा होटल सञ्चालन गर्दै आएको छ । कम्पनीका लगानीकर्ता प्रसिद्ध बहादुर पाण्डे हुन्, जो सांग्रिला हस्पिटालिटी ग्रुपका सञ्चालक हुन् ।
सन् २०२२ डिसेम्बरमा होटल व्यवस्थापनका लागि लस्ट होराइजन र आईएचजीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार रिसोर्ट इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन मेघौली ब्राण्डमा सञ्चालन हुने भएको छ । सांग्रिलाले पोखराको बेगनासमा पनि लक्जरी रिसोर्ट बनाएको छ । सांग्रिला हस्पिटालिटी ग्रुप होटल क्षेत्रमा परिचित छ । जसको संस्थापक श्यामबहादुर पाण्डे हुन् । उनको गत वर्षमात्रै निधन भएको थियो । अहिले उनका दुई छोराहरु प्रसिद्ध र प्रवीणले उनको व्यवसाय सम्हालिरहेका छन्।