काठमाण्डौ । तिहारको लक्ष्मी पूजाको दिन देशभरमा कुल १ हजार ६५० मेगावाट विद्युत खपत भएको छ । लक्ष्मी पूजाको दिन विद्युतको उच्च माग (पिक डिमाण्ड) १ हजार ६५० मेगावाट रेकर्ड गरिएको विद्युत प्राधिकरणले जनाएको छ ।
लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः५० बजे पिक डिमाण्ड १ हजार ६५० मेगावाट रेकर्ड गरिएको हो । गत वर्ष कार्तिक १६ गते लक्ष्मी पूजाको दिन पिक डिमाण्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको थियो । गतवर्ष भन्दा यसवर्ष लक्ष्मी पूजाको दिन पिक डिमाण्ड ४८ मेगावाटले बढेको हो ।
देशभित्रको विद्युत् मागलाई पूरा गरी बढी भएको १ हजार १५ मेगावाट विद्युत भारततर्फ निर्यात गरिएको पनि प्राधिकरणले जनाएको छ । लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग २ हजार ६६५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष लक्ष्मी पूजाको दिन प्रणालीको पिक डिमाण्ड १ हजार ८५५ मेगावाट थियो ।