logo

२०८२ कात्तिक ९, आइतबार

logo
  • २०८२ कात्तिक ९, आइतबार
  • पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

    पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

    143
    SHARES
    पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

    म्याग्दी । अन्नपूर्ण हिमालको आधार शिविर (Annapurna Base Camp) पछिल्लो समय युवापुस्ताको पहिलो रोजाइमा परेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित यो आधार शिविर समुद्री सतहदेखि ४,१५० मिटर उचाइमा रहेको छ र छोटो दूरीमै पुग्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको हो।

     

    अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार चालु शरदयाममा अपेक्षा भन्दा बढी पर्यटक आएका छन्। “दैनिक दुई सयदेखि पाँच सयजना पर्यटक आउँछन्,” उहाँले भन्नुभयो, “पदमार्ग र पूर्वाधार विकाससँगै युवापुस्ताको प्रमुख गन्तव्य यही बनेको छ।”

     

    हाल नारच्याङदेखि हुमखोला हुँदै २२ किलोमिटर पदमार्ग तयार गरिएको छ, जसबाट दुई दिनको पैदल यात्रामा आधार शिविर पुग्न सकिन्छ। यहाँबाट अन्नपूर्ण र नीलगिरि हिमाल, मिस्त्री खोला, झरना, वन्यजन्तु र दुर्लभ वनस्पतिको दृश्य अवलोकन गर्न सकिन्छ।

     

    समथर फाँटमा रहेको आधार शिविर मुनि ४,०५० मिटर उचाइमा पञ्चकुण्ड हिमताल छ, जसलाई अन्नपूर्णको हिउँ पग्लिएर बनेको प्राकृतिक ताल मानिन्छ। यहाँबाट हिमाल र ताल एकैपटक अवलोकन गर्न सकिने भएकाले पदयात्रीहरूको विशेष आकर्षण बनिएको छ।

     

    अन्नपूर्ण गाउँपालिकाले पदमार्गमा होटल, शौचालय, खानेपानी र रेलिङजस्ता पूर्वाधार निर्माण गरेको छ। तर, हाल पाहुनाको चाप अत्यधिक बढ्दा अस्थायी टेन्ट र पालमुनि बसोबासको व्यवस्था गर्नुपरेको होटल व्यवसायीहरूले बताएका छन्।

     

    सञ्चार र विद्युत् अभाव, फोहर व्यवस्थापन, र झोलुङ्गे पुलको स्तरोन्नति अहिलेका मुख्य चुनौतीका रूपमा देखिएका छन्।

     

    गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले भने, “छोटो दूरीमै पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताल पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त छन्। पूर्वाधार र प्रवर्द्धनका काममा प्रदेश र संघीय सरकारसँग समन्वय गरिनेछ।”


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट