काठमाण्डौ । लामो समयदेखि स्थगित बागमती प्रदेशसभाको बैठक कात्तिकको तेस्रो सातातिर बस्ने तयारी भइरहेको छ।
प्रदेशकी उपसभामुख अप्सरा चापागाईंका अनुसार छठ पर्वलगत्तै बैठक बोलाउने तयारी भइरहेको हो। उनका भनाइमा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग बैठक आह्वानको विषयमा परामर्श भइरहेको छ र सो परामर्शपछि बैठकको मिति औपचारिक रूपमा तय गरिनेछ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको प्रदेशसभा भवन मर्मत कार्यमा रहेको छ। अहिले अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्।
उनका अनुसार हाल सो सभाहलमा रङ्गरोगन, फर्निचर व्यवस्थापन, सरसफाइ र विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले आवश्यक मर्मत र व्यवस्थापनको काम अघि बढाएको छ।
सचिव पौडेलका अनुसार बैठक सञ्चालनका लागि आवश्यक फर्निचर र प्राविधिक सामग्रीहरू तत्कालका लागि भाडामा वा अस्थायी रूपमा उपलब्ध गराइनेछ। आगजनीबाट जोगिएका ल्यापटप र डेस्कटप कम्प्युटरहरूबाट हाल प्रारम्भिक तयारी सुरु गरिएको उनले बताए।