logo

२०८२ कात्तिक ११, मंगलबार

logo
  • २०८२ कात्तिक ११, मंगलबार
  • अमेरिका र चीनबीच व्यापार सम्झौताको फ्रेमवर्कमा सहमति, आर्थिक संकटबाट जोगियो विश्व

    अमेरिका र चीनबीच व्यापार सम्झौताको फ्रेमवर्कमा सहमति, आर्थिक संकटबाट जोगियो विश्व

    91
    SHARES
    अमेरिका र चीनबीच व्यापार सम्झौताको फ्रेमवर्कमा सहमति, आर्थिक संकटबाट जोगियो विश्व

    एजेन्सी । अमेरिका र चीनबीच व्यापार सम्झौताका लागि एक रूपरेखामा सहमति भएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच हुन लागेको भेटघाटको पूर्वसन्ध्यामा यस्तो सहमति बनेको हो । अमेरिकाका अर्थमन्त्री स्कट बेसन्टका अनुसार, यो सम्झौता आइतबार मलेसियामा सम्पन्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलनको साइडलाइनमा तयार गरिएको हो । यसले नोभेम्बर १ देखि लागू हुन लागेको चिनियाँ आयातमा १०० प्रतिशत भन्सार शुल्क लगाउने सम्भावनालाई हटाउनेछ र अमेरिकामा टिकटक बिक्रीसम्बन्धी अन्तिम सम्झौता पनि समावेश गर्नेछ ।

    पाँचदिने एसिया भ्रमणको पहिलो चरणका रूपमा ट्रम्प आइतबार मलेसिया पुगेका थिए । भ्रमणको अन्तिम दिन बिहीबार दक्षिण कोरियामा ट्रम्प र सी चिनपिङबीच भेट हुने अपेक्षा गरिएको छ । वार्तापछि अमेरिकाका राष्ट्रपतिले सकारात्मक टिप्पणी गर्दै चीनसँग सम्झौतामा पुग्ने बताएका छन् । बेसन्टका अनुसार, चीनले लडाकु विमान, स्मार्टफोन र विद्युतीय गाडीमा प्रयोग हुने खनिजको निर्यात नियन्त्रणलाई एक वर्षका लागि स्थगित गर्ने प्रतिबद्धता जनाएको छ । यो कदम शान्ति सम्झौताको भागका रूपमा लिइएको हो ।

     

    चीनका प्रमुख व्यापार वार्ताकार ली चङगाङले दुवै पक्षबीच प्रारम्भिक सहमति भएको बताएका छन् । अब उनीहरूले आफ्ना–आफ्ना आन्तरिक स्वीकृति प्रक्रियाहरू अघि बढाउने उनको भनाइ छ । अमेरिकाले कडा अडान लिएको लीले बताए । ‘हामीले निकै गहन परामर्श गरेका छौं र यी विषयहरूलाई सम्बोधन गर्नका लागि समाधान र व्यवस्था खोज्ने क्रममा रचनात्मक छलफल गरेका छौं,’ उनले थपे । मलेसियामा अमेरिकाका राष्ट्रपति ट्रम्प र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाबीच भएको सकारात्मक भेटपछि अमेरिका र ब्राजिलबीच पनि व्यापारिक तनाव कम हुने आशा गरिएको छ । दुवै देशका टोलीहरूले तत्कालै भन्सार शुल्क र अन्य विषयहरूमा छलफल सुरु गर्ने लुलाले बताएका छन् ।

     

    अमेरिका र चीनबीचको सम्झौताले विश्वव्यापी व्यापारयुद्धको जोखिम घटाएको छ । सम्झौता नभएको भए युरोप र बेलायतमा कार उत्पादनलाई असर गर्न सक्थ्यो । यो सहमति ट्रम्पले अप्रिल महिनामा ह्वाइट हाउस बाहिर मुक्ति दिवस भन्दै उच्च भन्सार शुल्क घोषणा गरेपछि तीव्र बनेको व्यापारिक तनावको पृष्ठभूमिमा आएको हो । चीनका राष्ट्रपति सीले १०० प्रतिशत भन्सार शुल्क लगाउने भनी ट्रम्पले दिएका धम्कीहरू स्वीकार नगर्ने संकेत दिएका थिए ।

     

    बरु उनले अमेरिकामाथि दबाब बढाउँदै दुर्लभ खनिज पदार्थहरूको निर्यातमा नियन्त्रण लगाए । कारका विद्युतीय झ्याल र ढोका प्रणालीका लागि अत्यावश्यक चुम्बकहरू पनि त्यसमा समावेश छन् । विश्वको ६० प्रतिशत उत्पादन र ९० प्रतिशत रिफाइनरी नियन्त्रण गर्ने चीनलाई ट्रम्पले अत्यधिक आक्रामक भएको आरोप लगाउँदै चीनले विश्वलाई बन्धक बनाउन खोजेको आरोप लगाएका थिए ।

     

    अमेरिकी सोयाबिन खरिद रोकेर चीनले अमेरिकाको कृषि क्षेत्रमाथि पनि आघात पु‍र्याएको छ । अमेरिकी सोयाबिनको सबैभन्दा ठूलो ग्राहक चीन हो । सन् २०२४ मा भएको कुल २४ अर्ब डलर निर्यातको आधा हिस्सा त चीनले नै किनेको थियो ।

     

    बेसन्टले पत्रकारहरूलाई भने, ‘मलाई लाग्छ, हामीले नेताहरूले बिहीबार छलफल गर्नका लागि एक अत्यन्त सफल रूपरेखा तयार गरेका छौं ।’ उनले अमेरिकाका व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग मिलेर चीनका उपप्रधानमन्त्री ह लिफङ र लीसँग मे महिनादेखिको पाँचौं प्रत्यक्ष वार्ता सम्पन्न गरेपछि रूपरेखा तयार पारेका हुन् ।

     

    बेसन्टका अनुसार, चीनसँगको भन्सार शुल्क प्रतिस्पर्धामा लागेको विराम नोभेम्बर १ पछि पनि कायम हुनेछ र चीनले अमेरिकी सोयाबिन खरिद पुनः सुरु गर्नेछ । सेप्टेम्बर महिनामा चीनले अमेरिकाबाट कुनै पनि खरिद नगरेर ब्राजिल र अर्जेन्टिनाबाट सोयाबिन ल्याएको थियो । ‘अमेरिकाका सोयाबिन किसानहरू यस सिजन र आगामी वर्षहरूमा हुने परिणामप्रति सन्तुष्ट हुनेछन्,’ बेसन्टले बताए ।

     

    दुवै पक्षले केही दण्डात्मक कदमहरू रोक्ने र चीनबाट दुर्लभ खनिज पदार्थमा बढी पहुँच प्राप्त गर्ने तथा अमेरिकाबाट बिक्री बढाएर व्यापार घाटा सन्तुलन गर्ने बाटो पत्ता लगाएको ग्रियरले बताएका छन् । अगस्टदेखि ब्राजिल र अमेरिकाबीचको तनाव पनि बढेको थियो । ट्रम्पले ब्राजिलका अधिकांश वस्तुहरूमा लगाइएको आयात शुल्क १० प्रतिशतबाट बढाएर ५० प्रतिशत पु‍र्याएपछि विवाद बढेको थियो । लुला र ट्रम्पबीच वार्ता भएपछि त्यो विवाद समाधान हुने अपेक्ष गरिएको छ ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक १०, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट