काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई नियमित खरिद-पुनर्खरिद खुला राखेको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेर पहिलो चरणको बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनाभित्र योजना नियमित खरिद-पुर्नखरिदका लागि खुला गर्नुपर्ने प्रावधानअनुसार मंसिर १५ गतेदेखि नियमित कारोबारका लागि खुला गरिएको जनाएको हो ।
हालका लागि इकाइ खरिद तथा पुर्नखरिद प्रक्रिया एनआईसी एशिया क्यापिटलको रजिस्टर्ड कार्यालय ट्रेड टावर नेपाल, थापाथली-काठमाडौंबाट गर्न सकिने व्यवस्था मिलाइएको छ । क्यापिटलका अनुसार निकट भविष्यमै मोबाइल एप, अनलाइन पोर्टल तथा डिजिटल भुक्तानी माध्यममार्फत पनि इकाइ खरिद-पुनर्खरिद गर्न सकिनेछ ।
एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम’ कम्पनीको दोस्रो खुलामुखी म्युचुअल फन्ड योजना हो । नेपालमा सञ्चालित खुलामुखी म्युचुअल फन्डहरूमध्ये पहिलो पटक मिनी एसआईपी (५ सय रुपैयाँ) तथा एसटीपी (सिस्टेमाटिक ट्रान्सफर प्लान) जस्ता विशेषताहरू यस योजनामा समावेश गरिएको क्यापिटलले जनाएको छ ।
योजनामा संकलित रकममध्ये अधिकांश हिस्सा धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूका सेयरमा लगानी गरिनेछ । भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरूको छनोट गरी लगानी गर्ने लक्ष्य यस इक्विटी-ओरिएन्टेड फन्डको रहेको छ ।
योजनाको पहिलो चरणअन्तर्गत १० रुपैयाँ अंकित दरका ५ करोड इकाइ साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक निष्कासन गरिएको थियो । सो अवधिमा ८२ हजार ७३७ जना लगानीकर्ताबाट ७४ लाख १७ हजार इकाई बराबरको आवेदन प्राप्त भएको थियो, जुन कुल मागको १.४८ गुणा बढी हो । योग्य आवेदन दिने सबै लगानीकर्तालाई भदौ १६ गते इकाई वितरण गरिएको क्यापिटलले जनाएको छ ।