काठमाण्डौ । होटेल फरेस्ट इन् लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज माघ ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ ४ गतेदेखि पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख कित्ता शेयर निष्काशन गरेको हो।
यस निष्काशनमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।
नेपाल धितोपत्र बोर्डले पौष २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने छ ।
यस कम्पनीले काठमाडौँको बुढानिलकण्ठमा ५ तारे ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । यस कम्पनीकी अध्यक्ष विनिता थापा हुन् । उनी नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दिपक खड्काकी श्रीमती हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै ३२ प्रतिशत स्वामित्व रहेको छ ।
कम्पनीका अन्य सञ्चालकमा रिंकु निरौला, चन्द्र सिंह साउद, अमर थापा र प्रल्हादराज कुँवर रहेका छन् ।
अर्थ चाैतारी ।