logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • ‘घोषणापत्रमा युवालाई पार्ट टाइम रोजगारी र समय सीमासहित सरकारी सेवाको व्यवस्था गरौँ’

    ‘घोषणापत्रमा युवालाई पार्ट टाइम रोजगारी र समय सीमासहित सरकारी सेवाको व्यवस्था गरौँ’

    1.4K
    SHARES
    ‘घोषणापत्रमा युवालाई पार्ट टाइम रोजगारी र समय सीमासहित सरकारी सेवाको व्यवस्था गरौँ’

    काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले कार्यान्वयन गर्न मिल्ने र देशको सामर्थ्यअनुसार सम्भव हुने कार्यक्रम समेटेर मात्रै घोषणापत्र ल्याउनुपर्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले भने, ‘हाम्रो मुलुकमा गर्नुपर्ने काम धेरै छन्, त्यसैले छोटो र व्यावहारिक लक्ष्यसहित अघि बढ्नुपर्छ। मलाई के लाग्छ भने पार्टीका नेताहरूले घोषणापत्र बनाउँदा वास्तविक आवश्यकता हेरेर तयार गर्नुपर्छ। घाटी हेरेर निल्ने भने जस्तै सम्भव हुने खालको कार्यक्रम ल्याउनुपर्छ । घोषणापत्र कागजमा राम्रो देखिने होइन, तल्लो तहका जनताले प्रत्यक्ष लाभ लिन सक्ने किसिमको हुनुपर्छ। यदि जनतामैत्री घोषणापत्र आयो भने निश्चित रूपमा मुलुक अगाडि बढ्छ।’

    उनले पार्टीगत प्रतिस्पर्धामा नकारात्मक राजनीतिक एजेन्डा आउने गरेको बताउँदै आर्थिक एजेन्डाका विषयमा भने सबै दलहरू एक ठाउँमा उभिएर साझा दृष्टिकोण बनाउन अनुरोध गरे । उनले भने, ‘अहिले हाम्रो मुलुकको आर्थिक अवस्था केही नकारात्मक दिशामा गएको छ। चालु खर्च करिब ८० प्रतिशत पुगेको छ भने विकास खर्च केवल २० प्रतिशतमा सीमित छ। दैनिक प्रशासनिक खर्च अत्यधिक हुँदा उत्पादनमुखी क्षेत्रमा लगानी कम भएको छ। त्यसैले घोषणापत्रमा अनावश्यक चालु खर्च घटाउने र उत्पादनमूलक गतिविधि बढाउने स्पष्ट योजना राख्नुपर्छ।’

    ठुलो सङ्ख्यामा युवाहरू विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले युवालाई राष्ट्रिय उत्पादनमा समाहित गर्न ‘पार्ट टाइम जब’ को व्यवस्था ल्याइनुपर्ने र यसलाई घोषणापत्रमै समेटिनुपर्ने बताए । उनले भने– ‘२०–२५ वर्षका युवाहरू अवसर नपाएर बिदेसिने अवस्था अन्त्य गर्नुपर्छ। विकसित मुलुकहरूमा बिहानैदेखि कामको अवसर उपलब्ध हुन्छ, त्यो भनेको युवा शक्तिलाई उत्पादनमा जोड्ने नीति हो । हाम्रो देशमा पनि यस्तै वातावरण निर्माण गर्नुपर्छ ।’

    उनले कृषि क्षेत्र पनि अझै प्राथमिकतामा पर्न नसकेको बताए । ‘हामी कृषि प्रधान मुलुक भए पनि खाद्यान्न आयात बढ्दो छ, जुन अत्यन्तै नकारात्मक सङ्केत हो’ उनले भने, ‘कृषि उत्पादन बढेमा जीडीपीमा प्रत्यक्ष सुधार हुन्छ। अहिले ठुलो परिमाणमा खेतीयोग्य जमिन बाँझो छ। यसलाई रोक्न स्थानीय सरकार र वडा तहसँग सहकार्य गरी बाँझो जमिन नराख्ने नीति ल्याउनुपर्छ। जुन ठाउँमा जस्तो माटो छ, त्यही अनुसारको उत्पादन प्रणाली अपनाउनुपर्छ।’

    ‘जमिन बाँझो नराख्ने’ विषयलाई राष्ट्रिय योजनाका रूपमा घोषणापत्रमै समेटिनुपर्ने उनको जोड छ । उनका अनुसार सूचना प्रविधि (आइटी) क्षेत्रमा ठुलो सम्भावना छ। उनले भारतले अर्बौँ डलर आम्दानी गरिरहेको अवस्थामा हामी केही अर्ब रुपैयाँमै सीमित रहेको औँल्याए । उनले भने, ‘आइटी शिक्षालाई सहरमा मात्र होइन, गाउँका दूरदराजसम्म पुर्‍याउनुपर्छ। ‘सिक्दै कमाउने’ मोडललाई अघि बढाउनुपर्छ ताकि युवाले पढ्दै काम गर्ने अवसर पाऊन्।’

    उनले वन जंगल र जडीबुटीको क्षेत्र पनि सदुपयोग हुन नसकेको बताउँदै पर्याप्त स्रोत हुँदाहुँदै पनि मलेसिया लगायत मुलुकबाट आयात गरिरहेको तथ्य औँल्याए । उनले भने, ‘जडीबुटीलाई व्यावसायिक रूपमा विकास गरी निर्यातमुखी बनाउनुपर्छ। गाँजा लगायतका केही बालीलाई नियमनसहित प्रशोधन र प्रवर्द्धन गर्ने विषयमा पनि गम्भीर छलफल आवश्यक छ, किनकि यसको अन्तर्राष्ट्रिय माग ठुलो छ।’

    उनले देशमा निराशा बढ्नुको मुख्य कारण सरकारी सेवा प्रवाह कमजोर हुनु रहेको बताए । उनका अनुसार काम समयमा नहुने, ढिलासुस्ती हुने प्रवृत्तिले जनतामा असन्तोष बढाएको छ। उनले भने, ‘अब आउने सरकारले ‘समय–सीमा आधारित कार्ययोजना’ अनिवार्य रूपमा लागू गर्नुपर्छ। कुन काम किन ढिला भयो भन्ने जवाफदेही प्रणाली बनाउनुपर्छ।’

    सेवा समयमै नपाउँदा मुलुक पछि परेको बताउँदै उनले यसलाई सुधार नगरी विकास सम्भव नभएको बताए ।


    अर्थ चाैतारी
  • आइतबार, १८ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट