काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको समृद्धिको आधार ऊर्जा क्षेत्र भएको बताएका छन् ।
झापा–५ का उम्मेदवार तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको निजी क्षेत्र संवाद कार्यक्रममा उनले जलविद्युत तथा ऊर्जा क्षेत्रलाई विकासको मुख्य आधारका रूपमा अघि बढाउन सरकारबाट लगानीमैत्री नीति र दीर्घकालीन स्थिरता आवश्यक रहेको बताए ।
कार्कीले निजी क्षेत्रले ऊर्जा क्षेत्रमा ठूलो लगानी गरिसके पनि नीतिगत अस्थिरता, लाइसेन्स वितरणमा लापरबाही र विद्युत खरिदमा अनिच्छाका कारण समस्या बढिरहेको उल्लेख गरे । दुई वर्षदेखि फाइल अघि नबढ्ने अवस्था रहेको गुनासो गर्दै उनले सरकार परिवर्तन भए पनि नीति परिवर्तन हुन नहुनेमा जोड दिए ।
लाइसेन्स अन्धाधुन्ध बाँड्ने तर उत्पादित बिजुली नकिन्ने प्रवृत्तिले लगानीकर्ता संकटमा परेको उनको भनाइ थियो । निजी क्षेत्र जोखिम लिन र लगानी जुटाउन तयार रहेको बताउँदै उनले बलियो र प्रतिबद्ध सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने माग गरे ।
अर्थ चाैतारी ।