काठमाण्डौ । साउदी अरेबियाको रक्षा मन्त्रालयले आफ्नो भूभागमा इरानले रातभर २६ वटा ड्रोन प्रहार गरेको बताएको छ। यीमध्ये धेरैजसो राजधानी रियाद र देशको पूर्वी क्षेत्रमा रोकिएको साउदीले जनाएको छ।
आइतबार बिहान संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो वायु रक्षा प्रणालीले इरानबाट भएको क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिइरहेको बताएको छ। दुबईको मिडिया कार्यालयले एक्समा पोस्ट गरेको छ, ‘मरिना र अल सुफौह क्षेत्रमा सुनिएका आवाज सफल अवरोधका हुन्।’
यसअघि शनिबार यूएईको पूर्वी तटमा रहेको फुजैराह बन्दरगाहमा ड्रोन आक्रमणपछि आगलागी भएको थियो। फुजैराह एक प्रमुख तेल निर्यात टर्मिनल हो। बहराइनले आफ्नो क्षेत्रमा साइरन बजिरहेको र मानिसहरूलाई नजिकैको आश्रयस्थलमा जान भनिएको बताएको छ।
यस्तै कुवेतले आइतबार आफ्नो राष्ट्रिय गार्डले २४ घण्टामा पाँचवटा इरानी ड्रोन खसालेको बताएको छ। यसअघि शनिबार राति अबेर कतारले दिनभरि क्षेप्यास्त्र र ड्रोन आक्रमण विफल पारिएको बताएको छ। राति कुनै आक्रमण नभएको उसको भनाइ छ।
अमेरिकासँग मिलेर इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता इरानसँग लडाइँ भइरहेको छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
अर्थ चाैतारी ।