logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • ८ महिनामा ४० अर्ब ६७ करोड वैदेशिक लगानीको प्रतिबद्धता, ५५४ आयोजना स्वीकृत

    ८ महिनामा ४० अर्ब ६७ करोड वैदेशिक लगानीको प्रतिबद्धता, ५५४ आयोजना स्वीकृत

    598
    SHARES
    ८ महिनामा ४० अर्ब ६७ करोड वैदेशिक लगानीको प्रतिबद्धता, ५५४ आयोजना स्वीकृत

    काठमाण्डौ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउनदेखि फागुन मसान्त सम्म) मा नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) तर्फ उत्साहजनक प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा कुल ४० अर्ब ६६ करोड ९३ लाख ८० हजार २५२ रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको हो । विभागका अनुसार यस आठ महिनाको अवधिमा जम्मा ५५४ वटा नयाँ वैदेशिक लगानीका आयोजनाहरू स्वीकृत भएका छन् ।



    प्रतिबद्धता रकमका आधारमा कृषि तथा वन पैदावारमा आधारित क्षेत्र वैदेशिक लगानीकर्ताको पहिलो रोजाइमा परेको छ । तथ्यांक अनुसार यस क्षेत्रमा मात्रै २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी सुनिश्चित भएको छ । जुन कुल प्रतिबद्धता रकमको ५४ प्रतिशत हिस्सा हो । कृषिपछि लगानीको दोस्रो आकर्षणका रूपमा पर्यटन क्षेत्र देखिएको छ । पर्यटन क्षेत्रमा ११ अर्ब २ करोड ५ लाख रुपैयाँ (२७ प्रतिशत) लगानीको प्रतिबद्धता प्राप्त भएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

    यसैगरी, सेवामूलक क्षेत्रमा ३ अर्ब ६२ करोड ८० लाख रुपैयाँ (९ प्रतिशत) र उत्पादनमूलक क्षेत्रमा २ अर्ब ५२ करोड ५६ लाख ४४ हजार २५२ रुपैयाँ (६ प्रतिशत) लगानीको प्रतिबद्धता आएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भने १ अर्ब ३० करोड ६४ लाख ३६ हजार रुपैयाँ (३ प्रतिशत) लगानी सुनिश्चित भएको देखिन्छ । अन्य क्षेत्रतर्फ ऊर्जामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ (१ प्रतिशत) र खनिज क्षेत्रमा ११ करोड ५० लाख रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ भने पूर्वाधार क्षेत्रमा यस अवधिमा लगानी शून्य रहेको छ ।

    संख्यात्मक आधारमा भने सूचना प्रविधि क्षेत्र सबैभन्दा अगाडि रहेको छ । कुल स्वीकृत ५५४ आयोजनाहरूमध्ये ३०७ वटा (५५ प्रतिशत) आयोजनाहरू सूचना प्रविधिसँग सम्बन्धित रहेका छन् । त्यस्तै, पर्यटन क्षेत्रमा १५५ वटा (२८ प्रतिशत), सेवामूलक क्षेत्रमा ३८ वटा र उत्पादनमूलक क्षेत्रमा ३७ वटा आयोजनाहरू स्वीकृत भएका छन् । कृषि क्षेत्रमा १४ वटा, खनिज क्षेत्रमा २ वटा र ऊर्जा क्षेत्रमा १ वटा आयोजना दर्ता भएका छन् ।

    उद्योगको आकारका आधारमा हेर्दा वैदेशिक लगानीमा साना उद्योगकै वर्चस्व कायम रहेको छ । फागुन मसान्तसम्म स्वीकृत भएका कुल आयोजनाहरूमध्ये ५३७ वटा साना उद्योग रहेका छन् भने ठूला उद्योगको संख्या ९ र मझौला उद्योगको संख्या ८ मात्र रहेको छ। यी प्रस्तावित आयोजनाहरू सञ्चालनमा आउँदा कुल २१ हजार ४९५ जनालाई रोजगारी दिने प्रतिबद्धता लगानीकर्ताहरूले व्यक्त गरेका छन् ।

    विशेष गरी फागुन महिनामा मात्रै नेपालमा ३८ करोड ६० लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । जसअन्तर्गत ३० वटा नयाँ आयोजनाहरू स्वीकृत भएका छन् । फागुन महिनामा दर्ता भएका यी आयोजनाहरूबाट २ सय ५९ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । यसैगरी, विभागले फागुन महिनामा मात्रै विभिन्न शीर्षकमा विदेशी नागरिकहरूका लागि भिसा सिफारिस गरेको छ । जसमा ७७ जना लगानीकर्ता, ५ जना व्यावसायिक भिसा, १८ जना प्रतिनिधि र ४२ जना आश्रित रहेका छन् ।

    चालू आर्थिक वर्षको ८ महिनाको समग्र तथ्यांकलाई हेर्दा विभागले १४५९ वटा व्यावसायिक भिसा, २२० वटा लगानीकर्ता भिसा र ४७१ वटा आश्रित भिसा सिफारिस गरिसकेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा भने भिसा सिफारिसको संख्यामा केही गिरावट आएको देखिन्छ । जहाँ गत वर्ष सोही अवधिमा २४०७ व्यावसायिक र २७१ लगानीकर्ता भिसा सिफारिस भएका थिए ।

    विदेशी कम्पनीहरूले नेपालमा गरेको लगानीबापत प्राप्त गर्ने लाभांश र रोयल्टी फिर्ता लैजाने प्रक्रिया पनि जारी छ । फागुन महिनामा मात्रै २६ करोड ५६ लाख २५ हजार ५८१ रुपैयाँ लाभांश (डिभिडेन्ड) फिर्ता लैजान विभागले स्वीकृति दिएको छ । त्यसैगरी, रोयल्टी बापत ३५ करोड २० लाख ५५ हजार ११९ रुपैयाँ र सेवा शुल्क बापत १ लाख १३ हजार ४५ अमेरिकी डलर फिर्ता लैजान सिफारिस गरिएको तथ्यांकले देखाउँछ ।

    समग्रमा, साउनदेखि फागुनसम्मको तथ्यांकले नेपालको कृषि र पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताहरूको रुचि बढ्दै गएको र साना उद्योगहरूले वैदेशिक लगानीको ठूलो हिस्सा ओगटेको स्पष्ट पारेको छ । उद्योग विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा लगानीका केही सूचक र भिसा सिफारिसको दरमा भने क्रमिक परिवर्तनहरू देखिएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट