काठमाण्डौ । मन्त्रिपरिषद् गठनको अन्तिम घडीमा रास्वपाका उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री र शिशिर खनाल परराष्ट्रमन्त्री बन्ने लगभग टुंगो लागेको छ। यहीबिच गृह मन्त्रालयमा सुदन गुरुङको नाम बलियो रूपमा अघि आएपछि नयाँ मोड आएको छ।
स्रोतका अनुसार बालेन समूहबाट गृहका लागि सुदन गुरुङको नाम नयाँ रूपमा प्रस्तावमा आएको हो। त्यसपछि जारी उच्चस्तरीय छलफलमा गुरुङले ‘गृह देऊ, नभए पर्यटन’ भन्ने कडा अडान राखेपछि सत्ता नेतृत्वमा रहेका रवि लामिछाने र बालेन शाहबीचको वार्ता पेचिलो बनेको बताइएको छ। सुरुमा गुरुङलाई युवा तथा खेलकुद मन्त्रालय दिने प्रस्ताव गरिएको थियो।
तर, उक्त प्रस्तावप्रति असन्तुष्टि जनाउँदै उनले ‘म खेलकुदमा फुटबल खेल्न जाने हो र’ भन्दै आक्रोश पोखेका थिए। यसपछि बालेन निकट एक नेताका अनुसार गुरुङलाई गृह मन्त्रालय दिने सम्भावना उल्लेखनीय रूपमा बढेको छ।
यता, रवि लामिछानेले भने डीपीलाई गृहमन्त्री नै बनाउन अझै जोडबल गरिरहेको बुझिएको छ। तर सुदनलाई गृह दिएर डिपीलाई सभामुख बनाउने विषयमा छलफल भइरहेकाे बुझिएकाे छ। समानान्तर रूपमा सुनिललाई भौतिक पूर्वाधार मन्त्रालय दिने विषयमा पनि छलफल अगाडि बढेको छ।
आज दिउँसो १२:३४ बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीका रूपमा बालेन शाहले सपथ लिने तयारी छ। त्यसपछि मन्त्रीहरूको पनि सपथ गराउने कार्यक्रम छ। तर, अहिलेसम्म रास्वपाले मन्त्रीहरूको अन्तिम सूची राष्ट्रपति कार्यालयमा पठाएको छैन।
बैठक अझै जारी रहेकाले अन्तिम नामावलीमा फेरबदल हुन सक्ने सम्भावना उच्च रहेको छ। अन्तिम घडीमा सुदन गुरुङको अडान, बालेन समूहको नयाँ प्रस्ताव र शक्ति बाँडफाँटको चलखेलले नयाँ मोड ल्याएको छ। अहिलेको अवस्था हेर्दा गृह मन्त्रालय गुरुङको हातमा जाने सम्भावना सबैभन्दा बलियो देखिएको छ।
अर्थ चाैतारी ।