logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • निर्माण क्षेत्रमा सुधार गर्न ३० दिनभित्र खरिद ऐन संशोधन गरिने, सरकारी पूर्वाधार निर्माण कम्पनी खडा गर्ने निर्णय

    निर्माण क्षेत्रमा सुधार गर्न ३० दिनभित्र खरिद ऐन संशोधन गरिने, सरकारी पूर्वाधार निर्माण कम्पनी खडा गर्ने निर्णय

    741
    SHARES
    निर्माण क्षेत्रमा सुधार गर्न ३० दिनभित्र खरिद ऐन संशोधन गरिने, सरकारी पूर्वाधार निर्माण कम्पनी खडा गर्ने निर्णय

    काठमाण्डौ । सरकारले भौतिक पूर्वाधार निर्माण क्षेत्रमा सुधार गर्न आगामी तीस दिनभित्र सार्वजनिक खरिद ऐन संशोधन गर्ने भएको छ ।



    शुक्रबार बसेको नवनियुक्त मन्त्रिपरिषदको बैठकले गरेको सय दिने एक सय कार्ययोजना निर्णयअन्तर्गत सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्ती, गुणस्तरहिन निर्माण, बढ्दो लागत र भ्रष्टाचार नियन्त्रणका लागि खरिद प्रणाली र परियोजना व्यवस्थापनमा व्यापक सुधारका लागि सार्वजनिक खरिद ऐन संशोधन गर्ने भएको छ ।

    विकास आयोजनाहरूलाई गति दिन र सुशासन कायम गर्न सरकारले सार्वजनिक खरिद ऐनमा संशोधनदेखि नयाँ ‘छाता कानुन’ तर्जुमासम्मका कार्ययोजना अघि सारेको छ ।

    संशोधित ऐनमा ‘भ्यालु फर मनी’, ‘लाइफ साइकल कस्टिङ’, ‘ई–जीओभी मार्केट प्लेस’ र ‘पर्फर्मेन्स बेस्ड कन्ट्राक्टिङ’ जस्ता आधुनिक अवधारणा लागू गरिनेछ । खरिद प्रक्रियालाई पूर्णतः डिजिटल, पारदर्शी र ट्रयाकिङयोग्य बनाउँदै स्वच्छ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य छ ।

    आयोजना व्यवस्थापनलाई व्यवस्थित बनाउन राष्ट्रिय योजना आयोगले आगामी दुई महिनाभित्र ‘राष्ट्रिय परियोजना पाइपलाइन’ तयार गर्ने भएको छ । जसमा सबै परियोजनाहरूलाई आर्थिक, सामाजिक र वातावरणीय आधारमा वर्गीकरण गरी लगानीको मोडालिटी (सरकारी, पीपीपी वा वैदेशिक लगानी) तय गरिनेछ ।

    लामो समयदेखि अलपत्र परेका र रुग्ण अवस्थामा रहेका आयोजनाहरूको समस्या समाधान गर्न ३० दिनभित्र एक उच्चस्तरीय अध्ययन टोली गठन गरिने भएको छ । उक्त टोलीले आयोजनाको औचित्य हेरी निरन्तरता दिने वा खारेज गर्ने सिफारिस गर्नेछ ।

    यस्तै, राष्ट्रिय गौरवका र ठूला रणनीतिक आयोजनाका लागि ‘फास्ट–ट्रयाक मेकानिजम’ मार्फत जग्गा प्राप्ति, रुख कटान र वातावरणीय प्रभाव मूल्याङ्कनको कार्यलाई एकीकृत र स्वचालित बनाइनेछ । यसको प्रत्यक्ष अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ ।

    ठेक्का प्रक्रियामा बारम्बार असफल हुने वा दुई पटकसम्म टेन्डर गर्दा पनि ठेक्का नलाग्ने आयोजनाहरूलाई अब सरकार आफैँले निर्माण गर्ने भएको छ । यस्ता आयोजनाहरू सरकारी पूर्वाधार निर्माण कम्पनीमार्फत प्रत्यक्ष कार्यान्वयन गर्न ३० दिनभित्र आवश्यक कानुन, जनशक्ति र उपकरणको व्यवस्था गरिनेछ ।

    आयोजना छनोटदेखि भुक्तानीसम्म हुने अनियमितता रोक्न ९० दिनभित्र ‘डेटा बेस्ड एन्ड–टु–एन्ड ई–प्रोक्युरमेन्ट’ अनुगमन प्रणाली लागू गरिने भएको छ । साथै, विभिन्न निकायगत झन्झट र कानुनी अड्चन हटाउन ६० दिनभित्र ‘परियोजना सहजीकरणसम्बन्धी ‘छाता कानुन’ को मस्यौदा तयार पारिनेछ ।

    सडक पूर्वाधारमा भइरहेको सास्ती कम गर्न तत्कालै ‘आयोजना निगरानी कार्यतालिका’ बनाई कार्यान्वयन गरिने र राजमार्गका रणनीतिक क्षेत्रहरूमा आगामी ४५ दिनभित्र ‘तौल पुल’स्थापना गरिने सरकारको कार्ययोजनामा उल्लेख छ । सरकारी कार्यालयहरूको भौतिक पूर्वाधार र स्तरीकृत विन्यासका लागि शहरी विकास मन्त्रालयले दुई महिनाभित्र न्यूनतम मापदण्ड तर्जुमा गरी १०० दिनभित्र कार्यान्वयनमा लैजाने पनि सरकारले निर्णय गरेको छ।

    सरकारको यो कदमले आयोजना कार्यान्वयनमा रहेका संरचनागत र कानुनी बाधाहरू हट्ने र विकास खर्चमा वृद्धि हुने अपेक्षा गरिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट