logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • काठमाण्डौ बसेर भारतीय युवाको क्रिप्टो धन्दा : १ अर्ब ३६ करोडको कारोबार

    काठमाण्डौ बसेर भारतीय युवाको क्रिप्टो धन्दा : १ अर्ब ३६ करोडको कारोबार

    286
    SHARES
    काठमाण्डौ बसेर भारतीय युवाको क्रिप्टो धन्दा : १ अर्ब ३६ करोडको कारोबार

    काठमाण्डौ । १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेका व्यक्तिबाट अनुसन्धान सुरु गरेको प्रहरी १ अर्ब ३६ करोड रुपैयाँ बढी क्रिप्टो कारोबारको जालोसम्म पुगेको छ । ६ चैतमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालगञ्ज उपमहानरपालिका–२० सम्झना चोक घर भएका ३१ वर्षीय नरेश रेउलेलाई सामाखुसी चोकबाट पक्राउ गर्‍यो । क्रिप्टोको कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।



    रेउलेले आफूले क्रिप्टोको कारोबार गर्न चाहने व्यक्तिको खोजी गर्ने र अर्को व्यक्तिलाई सम्पर्क गराउने गरेको प्रहरीसमक्ष बताए । यसरी सम्पर्क गराए वापत निश्चित रकम कमिसन लिने गरेको उनले बताएका थिए । उनीमार्फत ललितपुर महानगरपालिका–२५ नख्खु बस्ने ३२ वर्षीया दिप्ती पोखरेलसम्म प्रहरी पुग्यो । रेउलेले नै दिप्तीलाई भारतको पश्चिम बंगाल राज्य मेदिनीपुर मोयना थाना, उत्तर श्रीकण्ठ ग्राम घर भएका ४१ वर्षीय प्रवेश अली भन्ने एसके, बसिर इकबालसँग सम्पर्क गराएका थिए । दिप्ती १० हजार यूएसडी (अमेरिकन डलर) सटही गर्न इकबालकहाँ गएको सूचना रेउलेमार्फत प्रहरीले लियो ।

    त्यसपछि प्रहरीले दिप्तीलाई १५ लाख ३० हजार नगदसहित सामाखुसीकै रेडनपुल नजिकबाट पक्राउ गर्‍यो । उनै दिप्तीलाई सोधपुछ गरेपछि प्रहरीले इकबाललाई ललितपुरको एकान्तकुनाबाट पक्राउ गरेको थियो । इकबाल पक्राउ परेपछि क्रिप्टो कारोबारको रहस्य खुलेको छ । उनले आफ्नो मोबाइलमा बिनान्स नामको क्रिप्टो टे«डिङ अकाउन्ट खोली यूएसडी जम्मा गरी कारोबार गर्ने गरेको प्रहरीले पत्ता लगायो । उनको ‘अकाउन्ट हिस्ट्री’ हेर्दा १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५८० नेपाली रुपैयाँ कारोबार भइसकेको भेटिएको अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले बताए ।

    करिब डेढ अर्बको क्रिप्टो कारोबार गर्ने इकबाल विगत २८ वर्षदेखि नेपालमा बस्दै आएका थिए । सामाखुसीमा अली बाबा सर्भिसेस नामक सर्भिस कम्पनी खोलेर उनी काम गर्दै आएका थिए ।

    यही कम्पनीमा काम गर्ने दिप्तीलाई उनले क्रिप्टोको कारोबारमा लगाएको पाइएको छ । प्रहरीका अनुसार अहिले पक्राउ परेका तीन जना एक आपसमा मिलेर अवैध क्रिप्टोको कारोबार गर्ने गरेको पाइएको छ । बयानका क्रममा एकले अर्कोलाई दोषारोपण गरे पनि तीनै जनाको संयुक्त मिलेमतोमा क्रिप्टोको कारोबार भएको प्रहरीको दाबी छ । यो प्रकरणमा अनिल घिमिरे नाम गरेका अर्का व्यक्तिको पनि संलग्नता रहेको प्रहरीले बताएको छ ।

    पहिचान र वतन नखुलेका ती व्यक्तिविरुद्ध अहिले मुद्दा दर्ता भएको छ । खुलेको बखत मुद्दा दर्ता हुने बताइएको छ ।

    रेउले पटके अभियुक्त

    क्रिप्टो र हुण्डीको आरोपमा मुद्दा चलेका रेउले पटके अभियुक्त भएको पाइएको छ । अहिले पनि जिब्राल्टर दासको जाहेरीअनुसार ८ लाखको बैंकिङ कसुरको मुद्दा रेउलेविरुद्ध दायर भएको छ । यसअघि जिल्ला प्रहरी परिसर भक्तपुरमा निशा दुलालको जाहेरीका आधारमा १ जेठमा रेउलेविरुद्ध अर्को बैंकिङ कसुरको मुद्दा दायर भएको थियो ।

    उनी वैदेशिक रोजगारीसम्बन्धी कसुरका पनि फरार अभियुक्त हुन् । रामबहादुर वलीको जाहेरीले रेउलेविरुद्ध बैंकिङ कसुरको मुद्दा वैदेशिक रोजगार विभाग, ताहचलमा दायर भएको छ । हुण्डी र क्रिप्टोको मुद्दामा रेउले छुट्ने भए मुद्दा दर्ता भएका अन्य कार्यालयमा रेउलेलाई उपस्थित गराइने छ ।

    १ अर्ब ३६ करोडको मुद्दा

    यो प्रकरणमा पक्राउ परेका तीन जनाविरुद्ध अहिले काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दर्ता भएको छ । उनीहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको थियो । परिसरले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा हुण्डी र अभौतिक मुद्रासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

    न्यायाधीश कोशलेश्वर ज्ञवालीको इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ भइरहेको छ । अहिले प्रतिवादीको बयान भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि कारागार चलान तथा साधारण तारेख वा धरौटीमा रिहामध्ये एक आदेश आउने छ ।

    उनीहरूविरुद्ध अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुरमा १ अर्ब ३६ करोड ४५ हजार ५८० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ । मुलुकी फौजदारी अपराध संहिताको दफा २६२ (क)को उदफा १ र २ को कसुरमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

    उनीहरूविरुद्ध हुण्डीको कसुरमा पनि मुद्दा दायर भएको छ । स्रोत नखुलेको १५ लाख ३० हजार भेटिएका अपराध संहिताको दफा १२५ को १ र २ को कसुुरमा मुद्दा दायर गरिएको छ । हुण्डी र अभौतिक मुद्राको कसुरमा भेटिएका एकीकृत कसुर पनि लगाइएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट