काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । कांग्रेसले पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको ‘निर्वाचन कार्यक्रम’ अनुसार यसअघि बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन् ।
दलको नेताका लागि उम्मेदवारी दर्ता र निर्वाचन आज नै हुने तय भएको छ । उम्मेदवारी दर्ताका लागि शुक्रबार दिउँसो ३ बजेदेखिको समय तोकिएको छ । निर्वाचनका लागि भने शुक्रबार अपराह्न ५ बजेदेखिको समय तोकिएको छ । कांग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेका १८ र समानुपातिक प्रणालीबाट सांसद भएका २० गरी ३८ सांसद छन् ।
प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले संसदीय दलको नेतामा आकाङ्क्षा गर्ने धेरै छन् । अहिलेसम्म नेतामा ३ सांसद आकाङ्क्षी रहेको कांग्रेस नेताहरू बताउँछन् । भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दलको नेताका लागि दाबी प्रस्तुत गर्दै आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरिरहेका छन् ।
पछिल्लो समय विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर भन्दै दुई गुटमा विभक्त कांग्रेसमा केसी र आचार्य विशेष महाधिवेशन पक्षधर (अहिलेको संस्थापन) र आङ्देम्बे नियमित महाधिवेशन पक्षधर हुन् । दाबी गर्नेमध्ये आचार्यले रसुवाबाट प्रत्यक्ष निर्वाचन जितेका थिए भने आङदेम्बे र केसी समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।
केसी र आङदेम्बे कांग्रेसका पूर्वसहमहामन्त्री पनि हुन् । केसी कांग्रेसका सबैभन्दा अनुभवी सांसद हुन् । आङ्देम्बे दोस्रो संविधानसभा निर्वाचनबाट सभासद् भएका थिए । पार्टीको १४औँ महाधिवेशनमा केसी डा। शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य र आङ्देम्बे शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा विजयी भएका थिए ।
आचार्य १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी अहिले विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य भएका छन् । केसीले आफू नभए आचार्यलाई संसदीय दलको नेता बनाउनुपर्ने अडान लिएको ती पदाधिकारीको भनाइ छ । संसदीय दलको नेतामा आङदेम्बेलाई वर्तमान उपसभापति विश्वप्रकाश शर्मा, निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा शेखर कोइराला समूहले समर्थन गरेका छन् । उपसभापति शर्मा आङ्देम्बेतिर लागेपछि उनी निकटका सांसद निश्कल राईसहित पनि आङदेम्बेकै पक्षमा छन् ।
सभापति गगन थापासहित उपसभापति शर्मा बाहेकका पदाधिकारी भने केसीको पक्षमा छन् । केसी कांग्रेस सभापति थापाका ससुरा हुन् । सभापति थापा केसीलाई दलको नेता बनाउँदा परिवारको आरोप लाग्छ कि भनेर पदाधिकारीहरूलाई बताइरहेका छन् । केसीले आकाङ्क्षा नराखे हुन्थ्यो भन्नेमा थापा छन् । केसीले सकभर आफू हुने, आफू हुन नसके आफूले भनेको व्यक्तिलाई दलको नेता बनाउनुपर्छ भनेपछि समस्या बल्झिएको एक पदाधिकारीले बताए ।
थापाले आचार्यलाई उम्मेदवार बनाएमा केसी नरिसाउने र ससुरालाई नेतामा अघि सार्यो भन्ने आरोप पनि नलाग्ने भनेर आफू निकटका नेता तथा सांसदलाई बताइरहेको स्रोतले जनायो । तर, उपभापति शर्मा भने आङ्देम्बेको पक्षमा रहेकाले संस्थापनमै सहमति हुन सक्ने अवस्था छैन ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले लामो समय सर्वसम्मत दलको नेता बनाउन प्रयास गरे पनि त्यो सफल भइनसकेको बताए । ‘लामो समय सर्वसम्मत बनाउन पर्खियौँ, छलफल गर्यौँ,’ महामन्त्री पौडेलले भने, ‘अझै पनि सर्वसम्मतको प्रयास जारी छ । भएन भने प्रक्रियामा जान्छ । निर्वाचन समितिले निर्वाचन कार्यक्रम तय गरिसकेको छ ।’
सहमतिका लागि प्रयासरत नेताहरूका अनुसार कसैले पनि दाबी छोड्ने सम्भावना अहिलेसम्म देखिएको छैन ।
कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता निर्वाचनबाटै छानिएका छन् । अहिले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेको छ । तसर्थ मतदानमार्फत् दलको नेता चयन हुने सम्भावना प्रबल छ ।
अर्थ चाैतारी ।