काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरूको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १५ वटा फाइनान्स कम्पनीहरूले कुल ७० करोड ४० लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७३.१८ प्रतिशतले बढी हो । गत वर्ष चैतसम्ममा यी कम्पनीहरूले १८ करोड ८६ लाख ५९ हजार रुपैयाँ मात्र नाफा कमाएका थिए ।
समीक्षा अवधिमा अधिकांश कम्पनीहरू नाफातर्फ उकालो लागे पनि तीनवटा फाइनान्स कम्पनी भने अझै घाटामा देखिएका छन् । नेपाल फाइनान्सले ७ करोड ८६ लाख २५ हजार रुपैयाँ घाटा बेहोरेको छ, जबकि गत वर्ष यो कम्पनी सामान्य नाफामा थियो ।
यस्तै, जानकी फाइनान्सले २ करोड ९० लाख ८९ हजार र प्रोग्रेसिभ फाइनान्सले २ करोड ४७ लाख ४३ हजार रुपैयाँ घाटा बेहोरेका छन् । प्रोग्रेसिभ गत वर्ष ९ करोड ४ लाख नाफामा रहे पनि यस वर्ष भने घाटामा गएको हो ।
यस अवधिमा मन्जुश्री फाइनान्स सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ । उसले २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २७.९३ प्रतिशतको वृद्धि हो ।
नाफाको वृद्धिदरमा भने गुडविल फाइनान्सले सबैलाई उछिनेको छ । गुडविलले ५६५.७२ प्रतिशतले नाफा बढाउँदै १० करोड १३ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष घाटामा रहेको गुर्खाज फाइनान्सले यस वर्ष १२ करोड ९४ लाख रुपैयाँ नाफा कमाउँदै आफूलाई दोस्रो धेरै नाफा कमाउने कम्पनीको सूचीमा उभ्याएको छ ।
अन्य कम्पनीहरूमा पोखरा फाइनान्सले ७ करोड ३० लाख, वेस्ट र रिलायन्स फाइनान्सले समान ५ करोड ८७ लाख, गुहेश्वरी मर्चेन्टले ४ करोड ५५ लाख र सेन्ट्रल फाइनान्सले ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका छन् । त्यसैगरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २ करोड ५३ लाख, मल्टीपर्पोज फाइनान्सले ५३ लाख र समृद्धि फाइनान्सले ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको विवरणमा उल्लेख छ ।

अर्थ चाैतारी ।