काठमाण्डौ । एमसीए-नेपाल र नेपाल सरकारसँग एमसीसी नेपाल सम्झौताअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास भएको छ। अमेरिकी दूतावासले यसलाई एमसीसी परियोजनाको कार्यान्वयनमा एक महत्त्वपूर्ण कोसेढुङ्गाका रुपमा लिएको जनाएको छ।
यसले अमेरिका र नेपालबीच रहेको साझेदारीको मजबुती र नेपालका सर्वाधिक महत्त्वपूर्ण पूर्वाधारसम्बन्धी कार्यमध्ये एउटामा भएको नयाँ प्रगतिलाई प्रतिविम्बित गर्नेछ। उक्त बृहत्तर सम्झौतामा एमसीसीबाट ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर गरी कुल ७४ करोड ७० लाख डलरको संयुक्त लगानी समावेश छ।
सो कार्यक्रममा, कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले भने, “यो परियोजना केवल एउटा लगानी मात्र होइन । यो त हाम्रो दौत्य सम्बन्धको मजबुती र नेपालका जनता तथा एमसीसी सम्झौताअन्तर्गत नेपालमा काम गरिरहेका अमेरिकी व्यवसायहरूका लागि ठोस परिणाम दिने हाम्रो साझा प्रतिबद्धतालाई झल्काउने एक महत्त्वपूर्ण कोसेढुङ्गो हो ।”
सडक मर्मत तथा विद्युत् प्रसारण परियोजनाहरूमार्फत एमसीसी सम्झौताले नेपालको सडक सञ्जाललाई सुदृढ बनाउने, यातायात खर्च घटाउने, विद्युत् आपूर्ति भरपर्दो बनाउने र दीर्घकालीन आर्थिक वृद्धि तथा सीमापार विद्युत् व्यापारलाई सहयोग गर्ने दूतावासले उल्लेख गरेको छ।
यस सम्झौताले अमेरिका र नेपालले दिगो अवसरहरू सृजना गर्ने विषयमा सँगै के हासिल गर्न सक्छन् भन्ने देखाउने उनले बताए।
तस्बिरमा हेर्नुहोस्





सबै तस्बिर : नेपालस्थित अमेरिकी राजदूतावास/फेसबुक
अर्थ चाैतारी ।