logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • म्यानपावरको सेवा शुल्क अब बैंकबाट मात्रै, नगद कारोबार गरे कारबाही हुने

    म्यानपावरको सेवा शुल्क अब बैंकबाट मात्रै, नगद कारोबार गरे कारबाही हुने

    195
    SHARES
    म्यानपावरको सेवा शुल्क अब बैंकबाट मात्रै, नगद कारोबार गरे कारबाही हुने

    काठमाण्डाै । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसँग म्यानपावर कम्पनीहरूले लिने सेवा शुल्क अब अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र भुक्तानी गर्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले नगद कारोबारमा पूर्ण रूपमा रोक लगाउँदै यस्तो व्यवस्था लागू गरेको हो ।



    विभागले बिहीबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित र पारदर्शी बनाउन तथा ठगी नियन्त्रण गर्न बैंकिङ प्रणाली अनिवार्य गरिएको जनाएको छ । नगदमा कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण जुटाउन कठिन हुने भएकाले विभागले श्रमिक र म्यानपावर दुवै पक्षलाई नगद लेनदेन नगर्न सचेत गराएको छ ।

    ‘कुनै पनि इजाजतपत्रवाला संस्था, सो संस्थाका सञ्चालक, संस्थासँग आबद्ध कर्मचारी/प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारमा जानको लागि वा वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्य नगदमा नगर्नु/नगराउनु हुन अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

    विभागले निर्देशन अटेर गरी नगदमा कारोबार गराउने म्यानपावर कम्पनीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।

    श्रमिकलाई प्रमाण सुरक्षित राख्न आग्रह

    विभागले वैदेशिक रोजगारीमा जान चाहने प्रत्येक नेपाली नागरिकलाई म्यानपावर कम्पनीलाई बुझाउनुपर्ने सेवा शुल्क बैंक वा अनलाइन माध्यमबाट प्रयोजन खुलाएर मात्र भुक्तानी गर्न आग्रह गरेको छ । यसरी रकम बुझाइसकेपछि प्राप्त हुने प्रमाण, भौचर, कागजात तथा अनलाइन कारोबारको विवरण आफूसँग सुरक्षित रूपमा राख्न पनि विभागले अनुरोध गरेको छ ।

    हाल सरकारले खाडीका ६ मुलुक (कतार, साउदी अरब, यूएई, बहराइन, कुवेत र ओमान) जाने नेपाली श्रमिकका लागि सेवा शुल्कबापत म्यानपावर कम्पनीले अधिकतम १० हजार रुपैयाँ मात्र लिन पाउने व्यवस्था गरेको छ । त्यस्तै, मलेसियासँग भने शून्य लागत (फ्री भिसा, फ्री टिकट) मा श्रमिक पठाउने श्रम सम्झौता रहेको छ।

    पछिल्लो समय आकर्षक गन्तव्य बनेका युरोपलगायत अन्य देशमा जाने श्रमिकका लागि भने सरकारले स्पष्ट रूपमा सेवा शुल्क तोकेको छैन । यसैको फाइदा उठाउँदै म्यानपावर र एजेन्टहरूले श्रमिकबाट लाखौं रुपैयाँ असुल्ने गरेको गुनासो बढ्दै गएपछि विभागले आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमा ल्याएर कडाइ गर्न लागेको जनाएको छ।

    p


    अर्थ चाैतारी
  • विहिबार, १७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट