काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्यबाट पर्यटनविद् भिमप्रसाद पन्तले राजीनामा दिएका छन् । पन्तले विहीबारदेखि नै लागू हुने गरी राजीनामा दिएको प्राधिकरणले जानकारी दिएको छ ।
वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले राजनीतिक नियुक्ति लिएकाहरुलाई राजीनामा दिएर सरकारलाई सहयोग गर्न गरेको आग्रहसँगै सबै राजनीतिक नियुक्ति खारेज गर्न कानून नै ल्याउन लागेको छ । सोही सन्दर्भमा पन्तले पनि प्राधिकरणको सञ्चालक समितिबाट राजीनामा दिएका हुन । पन्तलाई सरकारले २०७९ असोज ७ गते ४ वर्षका लागि नियुक्ति दिएको थियो ।
पन्तलाई सरकारले पर्यटन विज्ञको रुपमा नियुक्त गरेको हो । प्राधिकणमा एक जना सदस्य यस अघि नै रिक्त रहेको छ भने अर्को एक हवाई विज्ञ रवीन्द्र सिलवाल मात्रै सदस्य बाँकी रहेका छन् ।
प्राधिकरणमा पर्यटन मन्त्रीको अध्यक्षतामा पर्यटन मन्त्रालय, अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य हुने व्यवस्था छ भने प्राधिकरणका महानिर्देशक सदस्यसचिव हुने व्यवस्था छ ।
अर्थ चाैतारी ।