काठमाण्डौ । लुम्बिनी हेरिटेजको प्रथम वार्षिक साधारण सभा २०८३ वैशाख २० गते लुम्बिनीस्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण सहितका वित्तीय विवरणहरू पारित गरेको छ ।
सभाले कम्पनीको दीर्घकालीन रणनीतिक विकासका लागि सर्वसाधारणमा साधारण सेयर निष्कासन गर्ने प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने महत्वपूर्ण निर्णय गरेको छ ।
यसका साथै, सन् २०२७ को जनवरी महिनाभित्र होटलको व्यवस्थापनको जिम्मेवारी अन्तर्राष्ट्रिय होटल समूह अन्तर्गतको क्राउन प्लाजालाई हस्तान्तरण गर्ने तयारी समेत गर्ने पनि निर्णय भएको छ । सभाले आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।
कम्पनीका अध्यक्ष सुभाष अमात्यले साधारण सेयर निष्कासनमार्फत संस्थाको पारदर्शिता वृद्धि गर्दै दीर्घकालीन मूल्य सिर्जना गर्न कम्पनी केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरे । कम्पनीले वार्षिक साधारण सभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरू प्रति आभार समेत प्रकट गरेको छ।
अर्थ चाैतारी ।