काठमाण्डौ । इस्लामिक सहयोग संगठन (ओआईसी) ले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित बराकाह आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमणको निन्दा गरेको छ। ओआईसीका महासचिवले विज्ञप्ति जारी गरी नागरिक प्रतिष्ठान र महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण गरिनु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको बताएका छन्।
ओआईसीले यूएईप्रति ऐक्यबद्धता जनाउँदै सुरक्षा र स्थिरताका लागि यूएईले चालेका सबै कदमलाई समर्थन गरेको छ। अबुधाबीको बराकाह आणविक ऊर्जा केन्द्रमा आइतबार राति ड्रोन हमला गरिएको थियो।
आक्रमणबाट पावर प्लान्टनजिकैको पावर जेनेरेटरमा आगो लागेको थियो, जुन पछि नियन्त्रणमा लिइएको थियो। घटनामा कोही पनि घाइते भने भएका छैनन्।
अहिलेसम्म कुनै पनि संगठन वा देशले आक्रमणको जिम्मेवारी लिएका छैनन्, तर इरानप्रति शंका गरिएको छ। किनकि इरानले हालै यूएईलाई बारम्बार धम्की दिइरहेको थियो।
उक्त घटनाले इरान र अमेरिकाको जारी कमजोर युद्धविरामका बिच यस क्षेत्रमा नयाँ तनावको चिन्ता बढाएको छ।
अर्थ चाैतारी ।