logo

२०८३ जेष्ठ ५, मंगलबार

logo
  • २०८३ जेष्ठ ५, मंगलबार
  • FNCCI निर्वाचन: वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन शुक्रबार, दुई पदका लागि ८ जना आकांक्षी

    FNCCI निर्वाचन: वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन शुक्रबार, दुई पदका लागि ८ जना आकांक्षी

    325
    SHARES
    FNCCI निर्वाचन: वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन शुक्रबार, दुई पदका लागि ८ जना आकांक्षी

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनअन्तर्गत महत्वपूर्ण मानिएका वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन आगामी शुक्रबार हुने भएको छ । महासंघको विधान र नियमावली परिमार्जनसहित दुवै पदको निर्वाचन एकैदिन गर्न लागिएको हो । निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान ९ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ भने सोही दिन आकांक्षीहरूका लागि मनोनयन दर्ताको समय समेत तोकिएको छ ।



    यसपटक महासंघको वरिष्ठ उपाध्यक्षका लागि ५ जनाले बलियो दाबेदारी प्रस्तुत गरेका छन् । आकांक्षीहरूमा दुई जना निवर्तमान उपाध्यक्ष, दुई जना पूर्व उपाध्यक्ष र एक जना निवर्तमान कोषाध्यक्ष रहेका छन् । निवर्तमान उपाध्यक्षद्वय सुरकृष्ण वैद्य र हेमराज ढकालसहित पूर्व उपाध्यक्षहरू रामचन्द्र सांघाई र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

    यीमध्ये ढकालले साधारणसभा अगावै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका थिए । त्यस्तै, निवर्तमान कोषाध्यक्ष भरतराज आचार्यले पनि वरिष्ठ उपाध्यक्षमा आकांक्षा देखाएका छन् । महासंघको विधान अनुसार एक कार्यकाल पदाधिकारी भइसकेको वा तीन कार्यकाल सदस्य भइसकेको बहालवाला केन्द्रीय कार्यकारिणी समिति सदस्य मात्रै वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न योग्य मानिन्छन् ।

    उता कोषाध्यक्ष पदका लागि भने हालसम्म ३ जना चुनावी मैदानमा उत्रने देखिएका छन् । केन्द्रीय कार्यकारिणी समिति सदस्यद्वय अम्बिका प्रसाद पौडेल र भक्त हमालसहित पूर्व केन्द्रीय सदस्य मनिषलाल प्रधानले कोषाध्यक्षमा आकांक्षा देखाएका हुन् ।

    महासंघको मौजुदा विधान अनुसार कम्तीमा दुई कार्यकाल सदस्य भइसकेको बहालवाला सदस्य मात्रै कोषाध्यक्षको उम्मेदवार हुन पाउने प्रावधान छ । यस प्राविधिक कारणले गर्दा पूर्व केन्द्रीय सदस्य मनिषलाल प्रधानलाई कोषाध्यक्षको उम्मेदवार बन्नका लागि निर्वाचन अघि मनोनित भएर केन्द्रीय समितिमा आउनुपर्ने बाध्यता रहेको छ ।

    निर्वाचनकै दिन महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले विधानले दिएको अधिकार प्रयोग गर्दै ७ जनालाई केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनित गर्ने तयारी गरेका छन् । आगामी ८ गते बिहान बस्ने केन्द्रीय समितिको बैठकबाट ७ जना सदस्य मनोनित हुने र सोही दिन उनीहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइने बुझिएको छ । मनोनयन लगतै वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको प्रक्रिया अघि बढ्नेछ ।

    यसपटकको निर्वाचनमा अध्यक्ष श्रेष्ठले मनोनित सदस्यहरूलाई पनि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा मतदान गर्न पाउने गरी नियमावली संशोधन गराउन लागेका छन् । नियमावली संशोधनका लागि उपाध्यक्ष कृष्ण प्रसाद शर्माको नेतृत्वमा गठित ५ सदस्यीय समितिले मनोनित सदस्यहरूलाई पनि चयन प्रक्रियामा सहभागी गराउने गरी नियमावली परिमार्जन गर्न सिफारिस गरिसकेको छ । यस संशोधनले महासंघको आन्तरिक चुनावी समीकरणमा नयाँ मोड ल्याउने अनुमान उद्योगी व्यवसायीहरूले गरेका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट