काठमाण्डौ । म्याग्दीमा निर्माणाधीन बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङमा आइतबारदेखि पानी भर्न थालिएको छ । भौतिक संरचनाहरूको प्राविधिक परीक्षण सफल भएपछि आयोजनाले आगामी १५ दिनभित्रै परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघु गङ्गा हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको बाँध (रघु गङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको सिमाना) बाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा पानी खसालिएको छ ।
रघु गङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार निर्माण सम्पन्न भौतिक संरचनाहरूको क्रमिक परीक्षण गर्ने क्रममा सुरुङमा पानी भर्न थालिएको हो । “पहिलो दिन १ हजार ६ सय मिटर सुरुङमा पानी भरिएको छ,” प्रबन्ध सञ्चालक केसीले कान्तिपुरसँग भने, “आगामी चार दिनभित्र सबै सुरुङमा पानी भरिसक्ने र त्यसको १५ दिनपछि सञ्चालनयोग्य बनाउने कार्य तालिका छ । सात वर्षको निरन्तर प्रयासपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्नु महत्त्वपूर्ण उपलब्धि हो ।”
आयोजनाले यसअघि नै बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र स्वीचयार्डको सफल परीक्षण गरिसकेको छ । सुरुङमा पानी भरेर प्राविधिक जाँच गर्दा कुनै समस्या नदेखिएमा लगत्तै विद्युत् गृहका २०/२० मेगावाटका दुई युनिटमध्ये पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु गरिने आयोजनाले जनाएको छ ।
तिल्केनीचौरस्थित विद्युत् गृह निर्माणको काम सकिएर अहिले रङरोगन भइरहेको छ । त्यहाँ २० मेगावाटको एउटा युनिट जडान भइसकेको छ भने अर्को युनिटको पाटपुर्जा जडान कार्य अन्तिम चरणमा छ । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत् गृह परिसरमा निर्मित स्वीचयार्ड गत जेठ २५ गतेदेखि नै सञ्चालनमा आइसकेको छ ।
ढिलाइ छिचोल्दै उत्पादनतर्फ
राहुघाट आयोजना अनेकौँ प्राविधिक र व्यवस्थापकीय ढिलाइ छिचोल्दै उत्पादनको संघारमा पुगेको हो । यसअघि विसं २०७२ मा पुरानो सिभिल ठेकेदार ‘आइभिआरसिएल’ को कमजोर आर्थिक अवस्थाका कारण ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गरिएको थियो ।
पछिल्लो पटक भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी) ले ४५ महिनामा काम सक्ने गरी सन् २०१७ नोभेम्बर १७ मा ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । जेपीले २०७६ असारदेखि सुरुङ खन्न थालेको हो । कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण ढिलाइ भएपछि आयोजनाको म्याद पटक-पटक थपिँदै आएको थियो । चौँथो पटक थपिएको अवधिभित्रै अहिले निर्माण सम्पन्न भएको हो ।
त्यस्तै, इलेक्ट्रोमेकानिकल तर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।
केन्द्रीय प्रसारण लाइनमा कसरी जोडिन्छ ?
राहु घाटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि कालीगण्डकी कोरिडोरअन्तर्गतको २२० केभी (डबल सर्किट) दाना–कुश्मा प्रसारण लाइनमा ‘लिलो’ (LILO) माध्यमबाट जोडिनेछ । यसका लागि आवश्यक ४ वटा टावर र प्रसारण लाइन निर्माणको काम सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ ।
यो आयोजना भारतीय आयात-निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा इन्जिनियरिङ, प्रक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) मोडलमा निर्माण गरिएको हो ।
अर्थ चाैतारी ।