काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्ष पुगेको अवसरमा ऐतिहासिक स्वर्ण महोत्सव (स्वर्ण उत्सव) सुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यता तथा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा राजधानीमा आयोजित एक भव्य समारोहका बीच उक्त महोत्सवको उद्घाटन गरिएको हो ।
विसं २०३२ सालमा स्वर्गीय तोलाराम दुगडको नेतृत्वमा काठमाण्डौमा स्थापना भएको नाडाले आफ्नो ५० वर्षको ऐतिहासिक यात्रा पूरा गरेको सुखद अवसरमा यो विशेष महोत्सवको आयोजना गरेको हो । उद्घाटन सत्रमा संस्थाको विकासमा योगदान पुर्याउने पूर्व अध्यक्षहरूलाई विशेष सम्मान समेत गरिएको थियो । स्वर्ण महोत्सवलाई थप अविस्मरणीय र जनमुखी बनाउन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालादेखि दरबारमार्गको होटेल याक एन्ड यतिसम्म एक प्रभात फेरी (वाकाथन) कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त प्रभात फेरीमा विभिन्न विशिष्ट व्यक्तित्वहरू, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्षहरू, सदस्य कम्पनीका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । नाडाका महासचिव मिलनबाबु मल्लले सञ्चालन गरेको र उपाध्यक्ष विक्रम सिंघानियाले संयोजन तथा धन्यवाद ज्ञापन गरेको यो महोत्सव असार १३ गतेदेखि १९ गतेसम्म साताभरि विभिन्न कार्यक्रमका साथ राजधानी लगायत सातै प्रदेशमा सञ्चालन हुने नाडाले जनाएको छ ।
आफ्नो ५० वर्षको गौरवमय अवधिमा नाडाले २३ वटा अधिवेशनहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने २१ जना अध्यक्षहरूले संस्थाको सफल नेतृत्व सम्हालिसकेका छन् ।
संस्थाले व्यावसायिक प्रवर्द्धनका लागि आफ्नो वार्षिक प्रकाशनका रूपमा ३६औँ संस्करणको ‘नाडा अटोमोबाइल व्यापार निर्देशिका’ (ट्रेड डाइरेक्ट्री) र ५१औँ संस्करणको ‘नाडा अटो समाचार’ (अटो न्यूज) का साथै १८औँ संस्करणको भित्ते पात्रो (क्यालेन्डर) समेत प्रकाशन गरिसकेको छ । यसै क्रममा आगामी भदौ महिनामा १८औँ संस्करणको बृहत् ‘नाडा अटो मेला’ (अटो शो) आयोजना गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध वस्तुगत संघहरूमध्ये नाडा पटक–पटक उत्कृष्ट संघको पुरस्कारबाट सम्मानित भइसकेको संस्था हो । सन् २०१५ देखि अन्तर्राष्ट्रिय स्तरको ‘आईएसओ ९००१:२०१५’ गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणित संस्थाका रूपमा स्थापित नाडाले व्यावसायिक हितका साथै आफ्नो सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ ।
यस अन्तर्गत संस्थाले देशव्यापी रूपमा विभिन्न सामाजिक महत्त्वका कार्यक्रमहरू सञ्चालन गर्नुका साथै देशमा आइपर्ने विभिन्न राष्ट्रिय विपद् तथा संकटका समयमा समेत अग्रपंक्तिमा रहेर सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।







अर्थ चाैतारी ।