logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • प्रत्येक घरलाई ५० युनिट बिजुली निःशुल्क

    प्रत्येक घरलाई ५० युनिट बिजुली निःशुल्क

    273
    SHARES
    प्रत्येक घरलाई ५० युनिट बिजुली निःशुल्क

    काठमाण्डौ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि ५ प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ ।



    मर्स्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो। मर्स्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने प्रस्ताव २१औँ गाउँसभाबाट पारित गरी लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

    उनका अनुसार गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत्को महसुल निःशुल्क पाउने व्यवस्था गरेको हो । यसका लागि गाउँसभाबाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष गुरुङले बताए ।

    गाउँपालिकाका अनुसार पालिकाका नौवटै वडामा गरी चार हजार ४०९ घरपरिवार रहेका छन् । गाउँपालिकाले आगामी आवमा विद्युत् रोयल्टीबाट करिब चार करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । पालिकाभित्रका हाइड्रोपावरबाट प्राप्त रोयल्टीबाट उक्त युनिटसम्मको विद्युत्को महसुल गाउँपालिकाले तिर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिए ।

    यस गाउँपालिकाभित्र ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनासहित आठवटा विभिन्न आयोजनाबाट करिब १०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । बेँसीसहर नगरपालिकासँग जोडिनेगरी ५० मेगावाटको मर्स्याङ्दी बेँसी जलविद्युत्लगायतका आयोजना निर्माणाधीन अवस्थामा छन् । उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पनि बढ्ने गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष गुरुङका स्वकीय सचिव तथा स्थानीय प्रदीप गुरुङले गाउँपालिकाले लागू गर्न लागेको ५० युनिटसम्मको निःशुल्क बिजुली सुविधाबाट गाउँपालिकाका ९० प्रतिशत नागरिक लाभान्वित हुने बताए । उनका अनुसार गाउँपालिकाका अधिकांश नागरिकले मासिक ५० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरेका छन् । पालिकामा अधिकांश ग्रामीण क्षेत्र रहेकाले उद्योगधन्दा न्यून छन् र बिजुलीको प्रयोग पनि कम भएकाले उक्त प्रतिशतका स्थानीयले सम्भवतः एक रुपैयाँ पनि विद्युत् महसुल तिर्नु नपर्ने अवस्था रहनेछ ।

    हालै सम्पन्न मर्स्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभा बैठकले आव २०८३/८४ का लागि ६८ करोड ७३ लाख १८ हजार ५०० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका अनुसार यहाँ १८ हजार ७५९ जनसङ्ख्या रहेको छ । ५० युनिटसम्म बिजुली निःशुल्क गर्ने निर्णयपछि स्थानीय हर्षित भएका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, १४ असार २०८३
  • सम्बन्धित समाचार