logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • एएमसी जादुको छडी होइन, बैंकिङ क्षेत्र संकटमा छैन: मनोज ज्ञवाली

    एएमसी जादुको छडी होइन, बैंकिङ क्षेत्र संकटमा छैन: मनोज ज्ञवाली

    338
    SHARES
    एएमसी जादुको छडी होइन, बैंकिङ क्षेत्र संकटमा छैन: मनोज ज्ञवाली

    काठमाण्डौ । एसेट्स म्यानेजमेन्ट कम्पनी (एएमसी) को स्थापना हुँदैमा त्यसले वित्तीय क्षेत्रका सबै समस्या जादुमयी ढंगले समाधान नगर्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बताएका छन्। एएमसी आउने बित्तिकै बैंकहरूको खराब कर्जा (एनपीए) सबै खरिद गरिदिने र बैंकहरू ढुक्क भएर बस्ने भनी बजारमा सिर्जना गरिएको भाष्य गलत भएको उनको तर्क छ।



    ज्ञवालीका अनुसार एएमसीले समस्यामा परेका कम्पनीहरूको व्यावसायिक सम्भाव्यता (फिजिबिलिटी) हेरेर, वित्तीय व्यवस्थापन र नगद प्रवाहमा सुधार गर्दै पुनर्संरचना र रिमोडेलिङ गर्ने हो। आवश्यक परे एएमसीले त्यस्ता कम्पनीको सञ्चालन जिम्मा समेत लिन सक्ने उल्लेख गर्दै उनले बैंकको सम्पत्ति सरासर किनिदिने भ्रममा कोही बस्न नहुने स्पष्ट पारे। यस्तो संवेदनशील अवस्थामा सरकारले लचिलो हुनुको साटो ‘थुन्ने, भाँच्ने र बाँध्ने’ जस्ता नीति लिएमा अर्थतन्त्रमा थप जटिलता आउन सक्ने चेतावनी समेत उनले दिए।

    खराब कर्जा बढेका कारण नेपाली बैंकहरू जर्जर र बर्बाद भए भन्ने बजारको हल्लालाई सीईओ ज्ञवालीले पूर्ण रूपमा अस्वीकार गरेका छन्। विगतको १.५ वा १.६७ प्रतिशतको तुलनामा हाल एनपीए बढेर ५.६ प्रतिशत पुग्नु चुनौतीपूर्ण भए पनि यो तथ्यांक दक्षिण एसियाली क्षेत्रमै दोस्रो न्यून रहेको उनले प्रस्तुत गरे। छिमेकी मुलुकहरू पाकिस्तानमा करिब १० प्रतिशत, श्रीलंकामा १० प्रतिशतभन्दा माथि र बंगलादेशमा राजनीतिक आन्दोलन तथा लामो अस्थिरताका कारण एनपीए करिब ३० प्रतिशत पुगेको तुलनात्मक पृष्ठभूमिमा नेपालको स्थिति निकै बलियो रहेको उनको दाबी छ। आयकर ऐनअनुसार ५ प्रतिशतसम्मको एनपीए डिडक्सनका लागि योग्य हुने र राष्ट्र बैंकको सर्कुलरले पनि सोही सीमाभित्र कतिपय सुविधाहरू तोकेकाले मात्र ५ प्रतिशतलाई ठूलो इस्युजस्तो देखिएको उनले प्रस्ट पारे।

    नेपाल राष्ट्र बैंकको कर्जा वर्गीकरण र रिपोर्टिङ प्रणाली अत्यन्त कडा र सुरक्षित रहेको उनले बताए। नेपाली बैंकहरूले नियमित कर्जामा समेत १ प्रतिशत प्रोभिजनिङ (सम्भावित नोक्सानी व्यवस्था) गर्ने नियम रहेकाले बैंकहरू वित्तीय रूपमा कमजोर नरहेको उनको भनाइ छ।

    आजको मितिमा हेर्दा बैंकमा रहेको सर्वसाधारणको निक्षेप डुब्ने वा नोक्सान हुने कुरा निकै टाढाको विषय रहेको भन्दै उनले ग्राहकलाई ढुक्क हुन आग्रह गरे। बैंकिङ क्षेत्रले सबै कुरा ठिक गर्‍यो भन्ने पक्षमा आफू नरहेको र कतिपय ठाउँमा बैंकहरू पनि चुकेको स्वीकार गर्दै उनले हालको समस्यामा बैंकिङ प्रणालीभन्दा बाह्य कारक तत्त्व बढी जिम्मेवार रहेको उल्लेख गरे।

    ज्ञवालीका अनुसार हाल एनपीए बढ्नुमा मुख्य तीन वटा बाह्य कारण छन्, जसमध्ये पहिलो सहकारी संकट हो। विगतमा कर्जा तिर्न अस्थायी समस्या हुँदा ऋणीले सहकारीबाट पैसा चलाउने, चेक साट्ने वा साथीभाइ गुहारेर बैंकको सावाँ व्याज नियमित गर्ने र ‘साइकल’ चलाउने गरेकामा सहकारी संकटपछि त्यो बाटो पूर्ण रूपमा बन्द भएको छ।

    दोस्रो, बजारमा अविश्वास यसरी चुलिएको छ कि आजको दिनमा कसैले कसैलाई ५० हजार रुपैयाँ पनि विश्वास गरेर पत्याउने अवस्था नहुँदा व्यक्तिगत लेनदेन ठप्प प्रायः छ। तेस्रो, रियल इस्टेट बजार शिथिल हुँदा जग्गा कित्ताकाट गरेर वा बेचेर ऋण नियमित गर्ने विकल्प पनि सकिएको छ। युवाहरूको तीव्र बाह्य बसाइँसराइँका कारण जग्गाको माग इतिहासकै न्यून विन्दुमा पुग्दा अर्थतन्त्रमा यसको प्रत्यक्ष असर देखिएको ज्ञवालीको विश्लेषण छ।


    अर्थ चाैतारी
  • आइतबार, १४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट