logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • कालो सिसा र स्टिकर हटाउने विषयमा ट्राफिक प्रहरी र नाडाबीच छलफल

    कालो सिसा र स्टिकर हटाउने विषयमा ट्राफिक प्रहरी र नाडाबीच छलफल

    416
    SHARES
    कालो सिसा र स्टिकर हटाउने विषयमा ट्राफिक प्रहरी र नाडाबीच छलफल

    काठमाण्डौ । सवारी साधनहरूमा प्रयोग भइरहेको कालो सिसा र स्टिकर हटाउने सम्बन्धमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालबीच विस्तृत छलफल भएको छ। असार १५ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी यस विषयमा छलफल गरेको हो।



    छलफलका क्रममा ट्राफिक प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा नभएका कालो सिसायुक्त सवारी साधनहरू विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग भइरहेको पाइएकाले ‘सवारी व्यवस्थापन ऐन २०४९’ को व्यवस्था अनुसार त्यस्ता सिसा हटाउन लागिएको जानकारी दिए। “सवारी साधन प्रयोगकर्ताहरूले न्यूनतम रूपमा गाडीको अगाडिको सिसामा कालो सिसा वा कुनै पनि प्रकारको स्टिकर टाँस्न नपाउने कानुनी व्यवस्था छ,” प्रमुख काफ्लेले भने, “सवारी साधन पैठारीकर्ताहरूले आफ्ना ग्राहकलाई यसबारे पूर्वजानकारी गराउनु पर्छ।”

    काफ्लेले कालो सिसा प्रयोग गर्नैपर्ने अवस्थामा सरकारको अनिवार्य अनुमति लिनुपर्ने स्पष्ट पार्दै पैठारीकर्ताहरूलाई उत्पादक (मेनुफ्याक्चरिङ) कम्पनीबाटै कालो सिसा भएका सवारी साधन आयात नगर्न समेत आग्रह गरे।

    छलफलमा नाडाका अध्यक्ष उप्रेतीले सवारी साधनहरूमा प्रयोग भइरहेको कालो स्टिकर (फिल्म) हटाउन प्राविधिक रूपमा खासै समस्या नरहेकाले सर्वप्रथम स्टिकर हटाउने प्रक्रियाबाट काम सुरु गर्नु उपयुक्त हुने सुझाव दिए।

    यस्तै, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले दोस्रो चरणमा उत्पादक कम्पनीबाटै कालो सिसा जडान भई आएका सवारी साधनहरूको संख्या यकिन गरी तिनलाई पनि हटाउन सकिने बताए। यस्ता गाडीहरूको संख्या नेपालमा धेरै नभएको उनको भनाइ थियो।

    यस विषयमा तत्काल छलफल अगाडि बढाउन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित अनुरोध समेत गरेको थियो। उक्त छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


    अर्थ चाैतारी
  • सोमबार, १५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट