काठमाण्डौ । कुवेतस्थित नेपाली दूतावासले कुवेत तथा इराकमा रहेका नेपालीलाई स्थानीय सुरक्षा अवस्था ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले जारी गरेको सूचना मार्फत कुवेत र इराकका आधिकारिक निकायबाट जारी हुने निर्देशन तथा सूचना पूर्णपालना गर्न नेपाली समुदायलाई अनुरोध गरिएको हो ।
साथै, सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सूचना साझा नगर्न र सरकारी निकायले प्रतिबन्ध लगाएका गतिविधिमा संलग्न नहुन पनि आग्रह गरिएको छ ।
दूतावासले आकाशमा देखिने कुनै पनि हवाई आक्रमण, प्रतिरक्षा गतिविधि वा त्यस्ता घटनासँग सम्बन्धित तस्विर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक नगर्न विशेष अनुरोध गरेको छ । यस्ता विषयमा कुवेत सरकारले जारी गरेका नियम तथा निर्देशन पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।
त्यसैगरी, कुनै पनि शंकास्पद वा अपरिचित वस्तुको नजिक नजान तथा साइरन बजे बाहिर रहेका व्यक्तिले नजिकको भवनभित्र आश्रय लिन र भवनभित्र रहेका व्यक्तिले सुरक्षित स्थानमै बस्न दूतावासले आग्रह गरेको छ । यद्यपि, सिसा भएका झ्याल वा बार्दली नजिक भने नबस्न सचेत गराइएको छ ।
कुवेतमा रहेका नेपालीलाई कन्सुलर सेवा वा अन्य सहयोग आवश्यक परे नेपाली दूतावाससँग सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
अर्थ चाैतारी ।