काठमाण्डौ । लामो समयदेखि थन्किएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम अन्तिम चरणमा पुगेको छ । सम्झौता भएको करिब साढे ८ महिनामै पुराना मितिका करिब २९ लाख लाइसेन्समध्ये २५ लाख ९२ हजार ४ सय १७ वटा लाइसेन्स छापिसकिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बाँकी ३ लाख ७ हजार ५ सय ८३ वटा लाइसेन्स भने एक वर्षभन्दा कम समयावधिका भएकाले नवीकरणपछि मात्र छापिनेछन् । यातायात व्यवस्था विभागबाट प्राप्त विवरणअनुसार छाप्नुपर्ने सबै योग्य लाइसेन्सको छपाइ सम्पन्न भइसकेको केन्द्रले जनाएको छ ।
पुराना लाइसेन्स छपाइका लागि विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पहिलो चरणमा १२ लाख लाइसेन्स छाप्ने सम्झौता २०८२ कात्तिक १२ गते भएको थियो । उक्त सम्झौताअनुसार २०८३ वैशाख १२ भित्र पहिलो लटको छपाइ सम्पन्न गरी विभागलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि २०८३ वैशाख ४ गते दोस्रो चरणमा १७ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो । जसअनुसार २०८३ असार ३२ भित्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
विभागका अनुसार पुराना लाइसेन्स छपाइ भइरहेका बेला अत्यावश्यक सेवासम्बन्धी काम भने रोकिएको थिएन । पहिलो चरणमा ३७ हजार ६ सय ९८ अत्यावश्यक तथा दैनिक राजस्व बुझाएका ३१ हजार २ सय २७ वटा लाइसेन्स नियमित रूपमा छापिएको थियो ।
दोस्रो चरणमा पनि पुराना लाइसेन्ससँगै ४ हजार ८ सय ८१ अत्यावश्यक तथा ट्रायल पास गरी वा नवीकरणपछि राजस्व बुझाएका २ लाख २९ हजार ९ सय १८ वटा नयाँ लाइसेन्स पनि छापिएको विभागले जनाएको छ ।
अब पुराना मितिका लाइसेन्सको छपाइ सम्पन्न भएकाले साउन महिनादेखि ट्रायल पास गर्ने तथा नवीकरणपछि राजस्व बुझाउने सेवाग्राहीले लाइसेन्सका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ । सुरक्षण मुद्रण केन्द्रका अनुसार अब आवश्यक प्रक्रिया पूरा गर्ने सेवाग्राहीले लाइसेन्स छिट्टै प्राप्त गर्नेछन् ।
छापिएका लाइसेन्सहरू सुरक्षण मुद्रण केन्द्रबाट यातायात व्यवस्था विभागमा पठाइने र विभागले हुलाक सेवामार्फत देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयमा वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
अर्थ चाैतारी ।