logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रणाली थप सुदृढ

    मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रणाली थप सुदृढ

    182
    SHARES
    मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रणाली थप सुदृढ

    काठमाण्डौ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट सफलतापूर्वक सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार असार २५ गते राति २२० केभीमा नो–लोड चार्ज गरी परीक्षण सम्पन्न गरिएको उक्त लाइनबाट असार २७ गतेदेखि नियमित रूपमा विद्युत् प्रवाह सुरु भएको हो।



    हाल यस लाइनमार्फत करिब ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित भइरहेको छ। मनाङ, लमजुङ तथा दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्ने उद्देश्यले निर्माण भइरहेको यो राष्ट्रिय गौरवको आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि करिब १६०० मेगावाट विद्युत् प्रसारण गर्न सक्ने क्षमताको हुनेछ।

    लामो समयदेखिको स्थानीय अवरोध, जटिल भौगोलिक बनावट, वन क्षेत्रभित्र रुख कटान स्वीकृतिमा भएको ढिलाइ तथा अन्य प्राविधिक चुनौतीका कारण यो प्रसारण लाइन निर्माण कार्य लामो समय प्रभावित भएको थियो। विशेष गरी लमजुङ क्षेत्रमा करिब १२ वर्षदेखि कायम स्थानीय समस्या समाधान भएपछि मात्र निर्माण कार्यले गति लिएको हो।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यस आयोजनालाई उच्च प्राथमिकतामा राख्दै निर्माणका अवरोध हटाउन निरन्तर पहल गरेको जनाएको छ। तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोजना स्थलको स्थलगत निरीक्षण गर्दै निर्माण कार्य तीव्र बनाउन निर्देशन दिएका थिए। मन्त्रालय, प्राधिकरण, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय र स्थानीय समुदायबीचको समन्वयले आयोजना सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको नियमित अनुगमन तथा आयोजना प्रमुख नारायण रेग्मीको नेतृत्वमा निर्माण व्यवस्थापन प्रभावकारी रूपमा अघि बढाइएकाले पहिलो सर्किट सञ्चालनमा ल्याउन सफलता मिलेको प्राधिकरणले जनाएको छ।

    पहिलो सर्किट सञ्चालनमा आएसँगै न्यू मर्स्याङ्दी (मार्कीचोक) २२० केभी सबस्टेशन राष्ट्रिय २२० केभी प्रसारण सञ्जालसँग जोडिएको छ। यससँगै मर्स्याङ्दी तथा दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् न्यू भरतपुर सबस्टेशन हुँदै हेटौंडा र ढल्केबर लगायतका राष्ट्रिय २२० केभी तथा ४०० केभी प्रसारण सञ्जालमा सहज रूपमा प्रवाह गर्न सकिने मार्ग प्रशस्त भएको छ।

    यो खण्ड सञ्चालनमा आएसँगै पूर्व–पश्चिम राष्ट्रिय प्रसारण सञ्जाल थप सुदृढ हुनुका साथै विद्युत् प्रणालीको विश्वसनीयता, प्रसारण क्षमता र सञ्चालन लचकतामा उल्लेखनीय सुधार आउने अपेक्षा प्राधिकरणको छ। यसले दोर्दी नदी बेसिनमा उत्पादित विद्युत् प्रवाह नपाएर खेर जाने अवस्थाको समेत अन्त्य गरेको छ।

    आयोजनाअन्तर्गत दोस्रो सर्किट तथा बाँकी संरचनाहरूको निर्माण सम्पन्न भएपछि मर्स्याङ्दी करिडोरको पूर्ण क्षमता उपयोग गर्दै ठूलो परिमाणमा विद्युत् प्रवाह गर्न सकिनेछ। यस उपलब्धिलाई नेपालको प्रसारण पूर्वाधार विकास, ऊर्जा आत्मनिर्भरता र भविष्यमा क्षेत्रीय विद्युत् व्यापार विस्तारतर्फको एक महत्त्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट