काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले धितोपत्र बजार सधैं उकालो मात्र लागिरहन नसक्ने बताएका छन्। प्रतिनिधि सभाको अर्थ समितिमा धितोपत्र बोर्डसँग सम्बन्धित समसामयिक विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष भट्टले यस्तो धारणा राखेका हुन्। उनले नेपाली सेयर बजार बढ्दा मात्र नभई घट्दासमेत लगानीकर्ताले आफ्नो हित र प्रतिफल सुरक्षित गर्न सक्ने खालको आधुनिक वित्तीय प्रणाली तथा उपकरणहरूको विकास गर्ने दिशामा बोर्डले गृहकार्य गरिरहेको जानकारी दिए।
नेपालको पुँजीबजारप्रति आमलगानीकर्ताको अपेक्षा अत्यधिक र कतिपय अवस्थामा अस्वाभाविक रहेको अध्यक्ष भट्टको भनाइ थियो। बजार घट्दा चिन्तित हुने र बढ्दा मात्रै खुसी हुने विद्यमान मनोवृत्तिप्रति इंगित गर्दै उनले सेयर बजार जहिले पनि बढिरहनुपर्छ भन्ने बुझाइ व्यावहारिक नभएको प्रष्ट पारे। “बजार सधैं बढिरहन सक्दैन। संसारको कुनै पनि सेयर बजारको सूचकांक निरन्तर उकालो मात्र लाग्दैन,” उनले समितिमा भने, “तर नेपालमा नेप्से सूचकांक ५ हजार विन्दु पुगेपछि पनि बजार सामान्य घट्यो भने नियामक निकाय धितोपत्र बोर्डलाई नै जिम्मेवार ठहर गरेर दोषी देखाउने प्रवृत्ति हाबी छ।”
पुँजीबजार नियमनका क्रममा बोर्डले दोहोरो दबाब झेल्नुपरेको गुनासो समेत उनले गरे। एकातिर बजार लगातार बढ्नैपर्छ भन्ने दबाब हुने र अर्कोतर्फ बजार धेरै बढेपछि ‘धितोपत्र बोर्डले के हेरेर बसिरहेको थियो?’ भन्दै नियमनको प्रभावकारितामाथि प्रश्न उठाउने विरोधाभासपूर्ण अवस्था रहेको उनले बताए। पुँजीबजारका सहभागीहरूमा यथार्थपरक अपेक्षाको विकास हुनुपर्नेमा जोड दिँदै उनले बजारको उतारचढावकै कारण आफूले हालै इतिहासमै पहिलोपटक धितोपत्र बोर्ड घेराउ तथा आन्दोलनको समेत सामना गर्नुपरेको अनुभव सुनाए।
हालसम्म नेपालको दोस्रो बजारमा मूल्य बढ्दा मात्रै नाफा आर्जन गर्न सकिने एकपक्षीय र परम्परागत प्रणाली कायम छ। यसलाई परिमार्जन गर्दै भविष्यमा बजार ओरालो लाग्दा समेत लगानीकर्ताले प्रतिफल लिन सक्ने गरी आधुनिक वित्तीय औजारहरू भित्र्याउने बोर्डको तयारी छ। यस्ता नवीन उपकरणहरूको विकासले नेपाली सेयर बजारलाई थप परिपक्व, सन्तुलित र उतारचढावका बीच पनि जोखिम वहन गर्न सक्ने गरी बलियो बनाउने विश्वास बोर्डले लिएको छ।
अर्थ चाैतारी ।