पोखरा । नेपाल र भारतबिच ऊर्जा क्षेत्रको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ।
बुधबार सम्पन्न जेएससी बैठकको सह–अध्यक्षता भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पङ्कज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले गरेकी थिइन्। यसअघि असार ३० गते बसेको जेडब्ल्युजी बैठकको सह–अध्यक्षता भारतका सहसचिव (प्रसारण) पङ्कज कुमार र नेपालका सहसचिव सन्दीप कुमार देवले गरेका थिए।
बैठकमा जलविद्युत आयोजना विकास, सीमापार विद्युत् व्यापार तथा प्रसारण पूर्वाधार निर्माणको प्रगतिबारे विस्तृत समीक्षा गरिएको थियो। विशेष गरी ४०० केभी गोरखपुर–न्यू बुटवल प्रसारण लाइनसहित विभिन्न प्रसारण परियोजनाको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।
त्यसैगरी, सञ्चालनमा रहेका तथा आगामी विद्युत् उत्पादन र प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्र बनाउने उपायबारे पनि छलफल भएको छ। बैठकमा नेपाल र भारतका विद्युत् ग्रिडको समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा विकास, ग्रीन हाइड्रोजनमा सहकार्य तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिलाई समेत प्राथमिकताका साथ उठाइएको थियो।
जेएससी बैठकअघि भारतका विद्युत् सचिव पङ्कज अग्रवालले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेटवार्ता गरी द्विपक्षीय ऊर्जा सहकार्यका विविध विषयमा छलफल गरेका थिए।
दुवै देशका प्रतिनिधिहरूले बैठकबाट भएका निर्णय र छलफलले नेपाल–भारत ऊर्जा साझेदारीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। ऊर्जा उत्पादन, प्रसारण र व्यापारका क्षेत्रमा बढ्दो सहकार्यले आगामी दिनमा दुवै देशलाई पारस्परिक लाभ पुग्ने अपेक्षा गरिएको छ।
अर्थ चाैतारी ।