काठमाण्डौ । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले शुक्रबार उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेका हुन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार पौडेल विरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको थियो। विभागले पौडेलविरूद्ध २० करोड ९० लाख बिगो मागदाबी लिएको थियो।
शुक्रबार थुनछेक बहसपछि अदालतले उनलाई मुद्दाको पुर्पक्षको लागी पौडेललाई साधारण तारेखमा राख्न आदेश गरेको हो। पौडेल असार ८ गते पक्राउ परेका थिए । उनले आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई श्रीराम टोबाको प्रालिको सेयर खरिदमा सहजीकरण गरेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान निष्कर्ष छ।
पौडेलले सहजीकरण गरेर श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत शेयर दीपक भट्टको कम्पनीलाई दिलाएको विभागको दाबी छ । तर, पौडेलले बयानमा सो कुरा अस्वीकार गरेका थिए।
अर्थ चाैतारी ।