logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • अन्तर बैंक एटीएम शुल्क घट्यो, मोबाइल बैंकिङलगायतमा कारोबारको सीमा बढ्यो

    अन्तर बैंक एटीएम शुल्क घट्यो, मोबाइल बैंकिङलगायतमा कारोबारको सीमा बढ्यो

    780
    SHARES
    अन्तर बैंक एटीएम शुल्क घट्यो, मोबाइल बैंकिङलगायतमा कारोबारको सीमा बढ्यो

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अन्तर बैंक अटोमेटिक टेलर मेसिन (एटीएम) को शुल्क घटाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९ जारी गर्दै अन्तर बैंक एटीएमको शुल्क अधिकतम १५ रुपैयाँ तोकेको हो ।



     

    यसअघि एक बैंकले जारी गरेको एटीएमबाट कुनै अर्को बैंकको एटीएम बुथबाट पैसा झिक्दा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था रहेको थियो । यद्यपि, कोभिड–१९ पछि यस्तो शुल्क महिनामा दुई पटक सम्मका लागि निःशुल्क हुने व्यवस्था गरिएको थियो । तर, एटीएम शुल्क घटेसँगै यसअघिको निःशुल्क व्यवस्था भने हटाइएको छ ।

     

    यस्तै, राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन २ लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था गरेको छ ।

     

    साथै, वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरिएको छ । यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो । एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा यसअघि एकदिनमा २५ हजार रुपैयाँसम्म मात्रै पठाउन सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ५० हजार रुपैयाँसम्म पठाउने सकिने व्यवस्था ल्याइएको छ । यद्यपि प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने यथावत राखिएको छ ।

     

    यस्तै, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढाइएको छ । मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट यसअघि प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने बनाइएको छ । सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस)मा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् सञ्चालन गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा लाग्ने शुल्कसम्बन्धी व्यवस्था पनि संशोधन भएको छ ।

     

    यसअघि ३ हजार रुपैयाँसम्मको कारोबारमा ५ रुपैयाँ शुल्क लाग्ने गरेकामा अब सोही शुल्कमा ५ हजार रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । त्यस्तै रू ५ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ शुल्क लाग्नेछ । यसअघि ३ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ शुल्क लाग्ने गरेको थियो । १० हजार १ रुपैयाँभन्दा माथिको सबै कारोबारमा २० रुपैयाँ शुल्क लाग्ने गरेकोमा त्यस्तो शुल्क घटाएर १० रुपैयाँ बनाइएको छ ।

     

    बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई उपलब्ध गराउने विभिन्न कार्डका बारेमा जानकारी गराई क्रेडिट, डेविट र प्रिपेड कार्डलगायतका विद्युतीय भुक्तानी कार्ड आफै छनौट गर्न पाउनेछन् । यस्तो कार्ड जारी गर्दा ग्राहकहरूसँग आवेदन फारमसँगै कार्ड जारी गर्दा र कारोबारमा लाग्ने शुल्क, कारोबारको सीमा, कार्डको प्रयोग गर्दा लाग्ने ब्याजदर र कार्डबाट प्राप्त हुने अन्य सुविधालगायत विषय समेटिएको सूचनामूलक सामाग्री प्रदान गर्नुपर्नेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट