काठमाण्डौ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले ३८ जनालाई प्रतिवादी बनाउँदै आइतबार सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, जीबी (गितेन्द्रबाबु) राई, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी समेतलाई प्रतिवादी बनाएको छ ।
दायर मुद्दामा आरोपितमध्येका छविलाल जोशीले दिएको बयानमा गोर्खा मिडियामा आएको रकमबारे आफूलाई कुनै जानकार रहेको बताएका छन् । उनले बयानमा भनेका ‘सहकारीको रकम गोर्खा मिडियामा आएकोबारे जीवी र रविलाई नै थाहा होला । यसबारे मलाई केही जानकारी छैन ।’
छविले गोरखा मिडियामा आफ्नो संलग्नताबारे समेत खुलाएका छन् । ‘काठमाडौँ प्रहरी प्रमुख भएको बेला रविसँग मेरो चिनजान थियो । जीबीकै सल्लाह अनुसार रवि लामिछानेलाई समेत आबद्ध गरी टेलिभिजन सञ्चालन गर्ने कुराकानी भएको र सो टेलिभिजन सञ्चालन गर्दा मलाई विना लगानी टेलिभिजनमा सञ्चालकको हैसियतले आबद्ध हुनु भनिएको थियो’, जोशीको बयानमा भनिएको छ ।
अर्थ चाैतारी ।