नाम्चे । सोलुखुम्बुको हिमाली क्षेत्रमा शुक्रबार दिउँसोदेखि परेको बाक्लो हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको पत्ताले, पिके, लामोजुरा, नाम्चे, थामे, खुम्जुङ, पाङ्बोचे, गोक्यो लगायतका उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको हो ।
नाम्चेबजार आसपाका क्षेत्रमा दुईफिट हिउँ परेको छ, भने त्योभन्दा माथिल्लो क्षेत्रमा २ फिटसम्म हिउँ परेको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताउनु भयो । बाक्लो हिमपातपछि ह्वातै बढेको चिसोले बृद्धबृद्धा र बालबालिकालाई बढि प्रभावित पारेको पनि वडा अध्यक्ष अधिकारीले बताउनु भयो ।
सगरमाथा क्षेत्र भ्रमणमा गएका पर्यटकहरुलाई समेत बाक्लो हिमपातले प्रभावित पारेको छ । दुईदिन देखिको बाक्लो हुस्सु र चिसो सिरेटोले पर्यटकहरुको दैनिक कार्यतालिकालाई प्रभावित पारेको हो । कतिपय पर्यटकहरु त नाम्चेबजारबाटनै भ्रमण छोट्टयाएर फर्किएका छन् ।
लिखुपिके गाउँपालिकाको सबैभन्दा सुन्दर पहाड पिके आसपासमा पनि बाक्लो हिमपात भएको छ । हिमपातका कारण स्थानीयको दैनिकी प्रभावित बनेको पिके पिक लज एण्ड रेष्टुरेण्टका सञ्चालक आङपासाङ शेर्पाले बताउनु भयो ।
अघिल्लो वर्षभन्दा यो वर्ष छिटो हिमपात भएको छ । अघिल्लो वर्ष माघ अन्तिममा परेको हिउँ यो वर्ष मंसिर अन्तिममानै परेको हो । मौसममा आएको प्रतिकुलताका कारण छिटो हिउँ परेको स्थानीयको भनाई छ ।
फोटो सौजन्य : लक्ष्मण अधिकारी खुम्जुङ र आङपासाङ शेर्पा पिके ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times