काठमाण्डौ । हकप्रद र बोनस सेयरका बारेमा बजारमा चलेको हल्लाका विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मागेको स्पष्टीकरणमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसीएन)ले जबाफ पठाएको छ।
सेबोनले बुधबार एनआईसी नेपाललाई पत्र पठाउँदै हकप्रद र बोनस सेयर वितरण गर्ने विषयमा कम्पनीको आधिकारिक धारणा सूचना नआउँदै बजारमा चलेको हल्लाका विषयमा स्पष्टीकरण माग गरेको थियो। ‘यस विषयमा कम्पनीलाई चित्तबुझ्दो जबाफ पठाउन भनेका थियौँ’, सेबोनका एक अधिकारीले बिजशालासँग भने, ‘कम्पनीले बुधबारै जबाफ पठाएको छ। उसले यस विषयमा कम्पनीबाट कुनै पनि सूचना नचुहिएको जानकारी गराएको छ।’
बजारमा यो कम्पनीले ४० प्रतिशत हकप्रद र ४० प्रतिशत बोनस सेयर दिने हल्ला चलाइएको थियो। एलआईसी नेपालको सेयरमूल्य बढाउन केही गिरोहले यसरी हल्ला चलाएको स्रोत बताउँछ। बीमा समितिले पुँजीवृद्धिका लागि हकप्रदलाई भन्दा मर्जरलाई प्राथमिक दिएको छ। यो हिसाबले पनि यो कम्पनीले हकप्रद निष्कासन गर्न पाउने देखिँदैन।
अर्कोतर्फ यो कम्पनीले ४० प्रतिशत बोनस सेयर वितरण गर्ने सम्भावना पनि छैन। किनकि यतिधेरै बोनस सेयर वितरण गर्ने क्षमता यो कम्पनीले बनाएको छैन। यो कम्पनीको संस्थापक सेयरमा विशाल ग्रुपको ठूलो लगानी छ। सोही विशाल ग्रुपको संस्थापक सेयरमध्ये २७ लाख कित्ता हालै सर्वसाधारण सेयरमा परिणत भएको थियो। सोही सेयरलाई मूल्य बढाएर सोझा लगानीकर्ता भिडाउन ४० प्रतिशत हकप्रद र ४० प्रतिशत बोनस सेयर हल्ला चलाउने काम भएको स्रोत बताउँछ।
अर्थ चाैतारी ।