काठमाण्डाै । भ्रष्ट प्रहरी प्रमुख र राजनीतिक दलको आडमा सिन्सियरले २२ वर्षदेखि गर्दै आएको ठगी धन्दा पर्दाफास भएको छ। राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले लुटतन्त्र मच्चाएको छ । एउटै बचतकर्ताले लाखदेखि पाँच करोड रुपैयाँ मुद्दती खातामा बचत गरेको सिन्सियर डुब्ने अवस्थामा पुगेको छ ।
सिन्सियरले लामो समयदेखि पैसा फिर्ता गर्न सकिरहेको छैन, जसका कारण बचतकर्ता पिरोलिएका छन् । सिन्सियरले सात महिनादेखि ब्याज दिन सकेको छैन । यता, बचतकर्ता पैसा फिर्ता हुन्छ कि भनेर निरन्तर सिन्सियर धाइरहेका छन् तर उनीहरू सधैँ रित्तो हात फर्किन बाध्य भएका छन् ।
२०५७ मंसिर २९ गते दर्ता भएको यस संस्थामा बचत गर्ने अधिकांश नेवारी समुदायका छन् । न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, ढल्कु, नरदेवी, पुतलीसडक, मैतीदेवी, क्षेत्रपाटी, डिल्लीबजारलगायतका क्षेत्र व्यापारी र बासिन्दाले सिन्सियरमा पैसा जम्मा गरेका छन् । यहाँ हजारौँको बचत छ जुन डुब्ने अवस्थामा पुगेको छ । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ काठमाण्डाैकै स्थायी बासिन्दा भएको विश्वासमा पर्दा हजारौँको बचत जोखिममा परेको छ । सिन्सियरका कार्यकारी सञ्चालक राजेश खड्का कंलकीका बासिन्दा हुन् ।
याे पनि पढ्नुहाेस्
सिन्सियरका तीन हर्ताकर्ताको सम्पत्ति छानबिन गर्नुपर्ने पीडितहरूको माग !
कंलकी एरिया बसोबास गर्ने धेरैको बचत सिन्सियरमा छ । क्षेत्रपाटी, ढल्कुकी कर्जा विभागकी अधिकृत मीरा कर्माचार्यको विश्वासमा पर्दा त्यस क्षेत्रका बचतकर्ता मर्कामा परेका छन् । यी तीन हर्ताकर्ता यहीको बासिन्दा हो, यिनीहरू भाग्दैनन् भनेर सिन्सियरमा पैसा जम्मा गरे । तर, साधासाधी बचतकर्ताको विश्वासको फाइदा यी तीन जनाले उठाए । बचतकर्ताले लगेर सिन्सियरमा बचत गरेको रकम पर्दाभित्र बसेर मिटर ब्याजमा लगानी गर्ने काम भयो ।
सिन्सियरका तीन हर्ताकर्ताहरूले भित्रभित्रै व्यापारीको माध्यमबाट मिटर ब्याजमा लगानी गर्ने गरिएको छ । एक लाखको मासिक पाँच हजारदेखि ३० हजार रुपैयाँसम्म ब्याजमा पैसा दिने सिन्सियरमा अवैध कारोबार मौलाएको छ । बचतकर्ताले ब्याज खान जम्मा गरेको रकम सिन्सियरले व्यापारीलाई खटाएर आवश्यक परेकालाई मिटर ब्याजमा लगाउन दिने गरिन्छ । बीचमा बसेर व्यापारीले पनि दलाल गर्छन् । सिन्सियर र केही टाठाबाठा व्यापारी मोटाइरहेका छन् भने साधासाधी व्यक्तिहरू दिनदहाडे लुटिएका छन् ।
त्यसै गरी, घरजग्गा, थोत्रा ट्याक्सी र सेयरमा पनि सिन्सियरको थुप्रो लगानी छ । सहकारीले सेयर धितो राखेर कर्जा दिनु स्वाभाविकै हो । तर, सिन्सियरले जम्मा भएको रकमले आफैँ सेयर किन्दै, नाफा खाँदै गरेको छ । जनताको पैसाले सेयर खरिदबिक्री गर्ने अनि आएको नाफा तीन जना मिलेर लापलुप खाने । आफ्नो पैसा लगानी नै नगरीकन सिन्सियरका भ्रष्ट अधिकृतहरूले मज्जाले नाफा कमाइरहेका छन् । २० वर्ष पुगेको थ्री– फोर मोडलका सात सय ट्याक्सीमा सिन्सियरको लगानी छ ।

सरकारले २० वर्ष पुराना ट्याक्सी विस्थापन गर्ने भनेर कानुन बनाएर राजपत्रमा निकालिसकेको छ । अब २० वर्ष पुगेका गाडीहरूको नामसारी हुँदैन् । सरकारले नामसारी बन्द गरिसकेको छ । यता, सरकारले राजस्व लिन पनि छोडिसकेको छ । अधिवक्ता राखेर कागज गरेर किनबेच गर्दा अहिले थ्री–फोरको गाडी दुईदेखि तीन लाख आउँछ । तर, सिन्सियरले यो मोडलको एउटा गाडीमा १३ देखि १५ लाख लगानी गरेको छ । उसले यस्ता गाडीबाट यत्रो पैसा उठाउन छ ।
ट्याक्सीमा लगानी सिन्सियरका लागि भारी पर्यो । सिन्सियर ट्याक्सीकै कारण चुर्लुम्मै डुब्ने अवस्थामा पुग्यो । हिजो एउटा ट्याक्सीलाई कर्जा दिने बेलामा सिन्सियरका तीन हर्ताकर्ताले २५ हजार रुपैयाँ घुस लिएको छ, त्यो पनि सेवा शुल्क बाहेक । ट्याक्सी धितो राखेर १० लाख रुपैयाँ कर्जा दिएबापत यिनीहरूले यत्रो घुस सजिलै पचाइरहेका थिए । उता, दुई प्रतिशत सेवा शुल्क पनि लिन्थे । घुस र सेवा शुल्कको प्रलोभनमा अन्धो बनेका यिनीहरूले यताउता केही नहेरी भकाभक ट्याक्सीलाई कर्जा दिए ।
त्यत्रो घुस दिएर कर्जा लिने ट्याक्सी चालकहरू चर्को ब्याज तिर्न नसकेर डुबे । तीन किस्ता नतिर्ने बित्तिकै सिन्सियरले चालक र ट्याक्सी व्यापारीको ट्याक्सी तानेर लग्यो । सिन्सियरले गाडी तानेर लगेपछि अधिकांश विस्थापित भए । चर्को घुस सिन्सियरका अधिकृतहरूले खाए तर साधासाधी ट्याक्सी व्यापारी र चालकलाई सुकुम्वासी बनाइदियो । सिन्सियरका कारण धेरै ट्याक्सी चालक र व्यापारीको घरपरिवार तहसनहस बनेको छ । अधिकांश भाग्नुपर्ने अवस्थामा सिन्सियरले पुर्याइदियो । सिन्सियरले गाडी तान्ने बेलामा गुण्डा पठाउँछ, एउटा गाडी तानेको ३० हजार दिन्छन् ।

सहकारी ऐनमा उल्लेख भएअनुसार ऋण तिर्नका लागि पहिले ३५ दिने सूचना जारी गर्नुपर्छ त्यो पनि राष्ट्रिय स्तरको पत्रपत्रिकामा । त्यस्तै, धितो लिलाम गर्नुअघि पत्रिकामा ऋणीको तीन पुस्ते र फोटो पत्रिकामा निकाल्नुपर्छ । तर, सिन्सियरले त्यस्तो गर्दैन् । सहकारी ऐनको धज्जी उडाउँदै सिन्सियरले ३५ दिने सूचना र तीन पुस्ते सार्वजनिक गर्ने गरेको छैन । धितो रोक्का राखेर ऋण लिने बेलैमा ऋणीको मञ्जुरी लिइसकेको सिन्सियरको कालो कर्तुत एकदमै धेरै छ ।
मञ्जुरी पत्रमा लेखिएको हुन्छ,‘तीन किस्ता मैले तिरिनँ भने मेरो धितो लिलाम गर्नुस् । म कहीँ उजुरी गर्दिनन् ।’ नेपाली कागजमा लेखिएको उक्त मञ्जुरी पत्रमा पहिले नै हस्ताक्षर गर्न लगाइन्छ । त्यस्तै, फोटोकपी पेपरमा दायाँबायाँ ल्याप्चे र हस्ताक्षर गर्न लगाएर राख्ने गरेका छन् । भोलि ऋण तिर्न सकेन भने सिन्सियरले त्यहाँ आफ्नो मन गढन्ते कहानी लेखेर ऋणी फसाउने गर्दछन् । ल्याप्चे र हस्ताक्षर गरेपछि भोलि ऋणीले मलाई थाहा छैन भन्न पाँउदैन् । सिन्सियरले आफूलाई माथि र ऋणीलाई तल पार्ने गर्दछ ।
कर्जा दिने बेलामा पाँचदेखि सात वर्षको अवधि तोकेर दिइन्छ । बसैँपिच्छे कर्जा नवीकरण गर्न लगाउँदछन् । एक चोटिमा दुई प्रतिशत नवीकरण शुल्क लिने गरेको छ, सिन्सियरले । सिन्सियरको कालो धन्दाको कुरा गरिसाध्य छैन । एक महिनाअघि एक करोड ऋण लिँदा ऋणीले दुई प्रतिशत सेवा शुल्कबापत तिर्छन् । एक करोडको १० लाख त घुस मात्रै खुवाउनुपर्छ । त्यस्तै, सेयर पनि भिडाइहाल्छन् । यता, मासिक ब्याज पनि २२ देखि ४८ प्रतिशत तोकिएको छ, त्यो पनि मान्छे हेरेर ।

एक करोड कर्जा दिँदा सिन्सियरले डेढदेखि दुई करोडको धितो खोज्छ । ब्याज महँगो भो भनेर अर्को बैंकमा सार्न खोज्दा वा ऋण चुक्ता गर्दा पनि दुई प्रतिशत सेवा शुल्क लिन्छ । ऋण चुक्ता गरेको दिनसमेत गनेर ब्याज लिन्छ । राम्रो धितो छ भने त्यहाँबाट सार्न दिँदैनन् । यता, ऋण चुक्ता गरेपछि पनि धितो फुक्का गर्दैन् । धितो पचाउनका लागि विभिन्न बहाना बनाइराख्छ । सिन्सियरले च्यापेका ऋणीले अर्को बैंकमा धितो सार्न खोज्यो वा अर्को बैंकमा लोन पास गरे पनि भड्काइदिन्छ ।
लोन पासको पेपर हातमा पारिसकेकालाई समेत सिन्सियरले यता न उताको बनाइदिन्छ । धितो त्यहाँबाट फुक्का गरेर अन्त लैजानै दिँदैनन् । ब्याजको स्याज, जरिवाना, हर्जाना हानेर जसरी हुन्छ सिन्सियरले धितो कब्जा गर्नै खोज्छ । सिन्सियरले ऋणीको कर्जा लिएको किस्ताको खाता र पैसा जम्मा गर्ने खाता खोल्छ । त्यहाँबाट ऋण लिएकाले मासिक किस्ता भनेर तिरेको पैसा सिन्सियरले खातामा जम्मा गरिदिन्छ । आज किस्ता तिरेपछि किस्ता घटाइदिनुपर्थ्यो नि ।
अर्थ चाैतारी ।