logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • नेपाल अब बिजुली माग्ने होइन, बेच्ने देश बन्नुपर्छ : सांसद न्यौपाने

    नेपाल अब बिजुली माग्ने होइन, बेच्ने देश बन्नुपर्छ : सांसद न्यौपाने

    39
    SHARES
    नेपाल अब बिजुली माग्ने होइन, बेच्ने देश बन्नुपर्छ : सांसद न्यौपाने

    काठमाण्डौ । सांसद ई. श्रीराम न्यौपानेले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय सङ्कल्पलाई सफल बनाउन ‘ऊर्जा दशक’ घोषणा गरेर अघि बढ्नुपर्ने बताएका छन्।



    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान शक्तिशाली सरकार र बलियो राजनीतिक इच्छाशक्तिका कारण ५ वर्षभित्र नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउन र १० वर्षभित्र प्रमुख ऊर्जा निर्यातकर्ता राष्ट्रका रूपमा स्थापित गर्न सम्भव रहेको उल्लेख गरेका हुन् ।

    सांसद न्यौपानेले एक दशकलाई ‘ऊर्जा विकास दशक’ घोषणा गरी १० वर्षका लागि ‘सनसेट ल’ लागू गर्ने प्रयासमा सरकार लागिरहेको जानकारी दिए। नेपालमा पानी, घाम र हावाबाट मात्रै डेढ लाख मेगावाटसम्म हरित ऊर्जा उत्पादन गर्न सकिने सम्भावना अध्ययनले देखाइसकेको भन्दै उनले वार्षिक झन्डै ३ खर्ब रुपैयाँ पेट्रोलियम आयातमा खर्च भइरहेको अवस्थालाई बदल्नुपर्नेमा जोड दिए।

    अब नेपाल भाषणले नभई ऊर्जा क्रान्तिले बन्नुपर्ने उल्लेख गर्दै उनले प्रत्येक नेपालीको घरमा विद्युतीय भान्सा, खेतमा विद्युतीय सिँचाइ र सहरहरूलाई ईभी–मैत्री बनाउनुपर्ने धारणा राखे। न्यौपानेले ऊर्जा क्षेत्रलाई प्रशासनिक झन्झट र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै निजी क्षेत्रलाई खुला प्रतिस्पर्धाको वातावरण दिनुपर्ने बताए।

    उनले नेपाल विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य गरी प्रतिस्पर्धात्मक बजारतर्फ जानुपर्ने र लगानीका लागि बैंक, एनआरएन तथा विभिन्न कोषहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए। प्रसारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने र एकद्वार प्रणाली लागू गर्नुपर्ने उनको माग छ।

    सांसद न्यौपानेले भने, ‘हाम्रो पानी बगिरहेको छ, युवा विदेश गइरहेका छन् र हामी पेट्रोलियम आयातमै अर्बौँ खर्च गरिरहेका छौँ, अब यो अवस्था बदल्नुपर्छ। नेपाल अब बिजुली माग्ने देश होइन, बिजुली बेच्ने देश बन्नुपर्छ।’


    अर्थ चाैतारी
  • विहिबार, ३१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट