काठमाण्डौ । इण्डियन आयल कर्पोरेशनआईओसीले आज नयाँ मूल्य सूची पठाएको छ । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य बढेको र डिजल तथा पेट्रोलको घटेर प्राप्त भएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।
अन्य सबै प्रकारका इन्धनको लागत घट्दा खाना पकाउने ग्याँसको लागत भने बढेको निगम स्रोतको दाबी छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।
पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ । निगमलाई गत आवको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमले दाबी गरेको छ ।
आईओसीले आज पठाएको नयाँ मूल्य सूचीअनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ । यससँगै एलपी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ ।
यसअघि खाना पकाउने एलपी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २ हजार ९६ रुपैयाँ थियो । यो मूल्यअनुसार निगमलाई प्रतिसिलिन्डर २९६ रुपैयाँ घाटा थियो । तर, आज प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई सिलिन्डरमा ६३५ रुपैयाँ घाटा हुने भएको हो । निगमले उपभोक्तालाई एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँमा बिक्री गर्दै आइरहेको छ ।
अर्थ चाैतारी ।