काठमाण्डाै । इन्फो डेब्लपर्स र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सहकार्यको सम्झौता भएको छ । दुई कम्पनी बीचको सम्झौतासँगै इन्फो डेब्लपर्ससँग आबद्ध सहकारी संस्थाहरुले आफ्नो बैंक तथा वित्तीय संस्थाहरुमार्फत एनसीएचएलमार्फत भुक्तानी गर्न सक्नेछन् ।
सम्झौता पत्रमा इन्फो डेब्लपर्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सहकार्यको सम्झौतापछि इन्फो डेब्लपर्सको कोर सिस्टम प्रयोग गरी रहेका विभिन्न सहकारी संस्थाहरुले आफ्ना क, ख र ग वर्गका बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सक्छन् ।
यस्तै, खाताबाट नै आफ्नो सेटलमेन्ट बैंकमार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरु गर्न सकिने व्यवस्था मिलाइने छ । उक्त सेवाहरुलाई सहकारी संस्थाहरुले उपलब्ध गराएको मोबाइल बैंकिङ्ग एपमार्फत पनि विस्तार गर्न सकिने छ । विद्युत्तीय भुक्तानी कारोबारको दायरा फराकिलो गरी थप ग्राहक समूहमा बैंकिङ्ग पहुँच पुर्याउन यस एनसीएचएल र इन्फो डेब्लपर्सको सहकार्यताले थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन भने अन्य पिएसपीर पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
अर्थ चाैतारी ।