काठमाण्डौ । बालुवाटारमा रहेको ललितानिवास प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ७ मध्ये तीनजना रिहा भएका छन्।
कलाधर देउजा, भुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई अदालतको स्टेअर्डरपछि रिहा गरिएको हो। देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख हुन् भने केसी र कपाली कर्मचारी हुन्।
अब भाटभटेनीका सञ्चालक मीनबहादुर, पूर्वआयुक्त शाह मालपोत कार्यलय डिल्लीबजारका कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की मात्र सीआईबीको नियन्त्रणमा छन्। शाह तत्कालीन अवस्थामा जिल्ला मालपोत कार्यालय भक्तपुरमा कार्यरत थिए ।
सीआईबीले सातै जनालाई मंगलबार काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो।
ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले मंगलबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाहसहित ७ जनालाई पक्राउ गरेको थियो।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो। न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २०७७ सालमा दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
यस प्रकरणमा सीआईबीले गत वर्ष नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाए पनि थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो। सरकारी जग्गा हडप्न किर्ते गर्नेविरुद्ध ३ वर्ष लगाएर सीआईबीले तयार पारेको प्रतिवेदनलाई सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको थियो।
अर्थ चाैतारी ।