दोहा। कतारको सबैभन्दा ठुलो ग्यास फ्याक्ट्रीमा भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन्। र्यास लाफान औद्योगिक क्षेत्रमा रहेको देशकै मुख्य तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) प्रशोधन केन्द्रमा आइतबार राति ‘प्राविधिक दुर्घटना’ भएको कतारी गृह मन्त्रालयले जनाएको छ। विस्फोटका कारण सहरको आकाश पूरै सुन्तला रङ्गको देखिएको थियो।
कतारका ऊर्जामन्त्री साद शेरिदा अल-काबीले यो एक दुर्घटना भएको र यसमा कुनै पनि प्रकारको शत्रुतापूर्ण गतिविधि संलग्न नरहेको स्पष्ट पारेका छन्। उनले यो विस्फोटबाट देशको ग्यास निर्यातमा कुनै असर नपर्ने समेत बताए। र्यास लाफान बन्दरगाह संसारकै सबैभन्दा ठुलो कृत्रिम बन्दरगाह हो र यहाँ विश्वकै ठुलो एलएनजी निर्यात केन्द्र रहेको छ। आइतबार भएको यो विस्फोटको धक्का ७० किलोमिटर टाढा रहेको केन्द्रीय दोहासम्म महसुस गरिएको थियो, जसका कारण त्यहाँका बासिन्दाहरू त्रसित बनेका थिए।
ऊर्जामन्त्री अल-काबीका अनुसार बारजान स्थानीय ग्यास आपूर्ति केन्द्रमा भएको यो विस्फोटको कारण पत्ता लगाउन सरकारले काम गरिरहेको छ। उनले यसबाट कुनै वातावरणीय जोखिम नरहेको बताए पनि उद्योगको कामकाज कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने कुरा यकिन गर्न गाह्रो भएको उल्लेख गरे। ‘जरुरी मर्मतसम्भारका लागि डिसेम्बर २०२५ देखि प्लान्टको उत्पादन पूर्ण रूपमा बन्द गरिएको थियो र दुई दिनअघि मात्र यसलाई पुनः सुरु गरिएको थियो,’ उनले भने। दुर्घटनाको अनुसन्धान सुरु भइसकेको छ र ज्यान गुमाउनेहरू सबै भारत र पाकिस्तानका नागरिक रहेको मन्त्री अल-काबीले पुष्टि गरेका छन्।
यसैबिच, दोहास्थित भारतीय दूतावासले आफूहरू कतारी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र ज्यान गुमाउने तथा घाइते भएकाहरूका परिवारलाई हरसम्भव सहयोग गर्ने जनाएको छ। दूतावासले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेको छ, ‘गएराति र्यास लाफान औद्योगिक सहरमा भएको दुःखद घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ।’ कतारको सरकारी ऊर्जा कम्पनी ‘कतारइनर्जी’ ले आइतबार बेलुकी बारजान स्थानीय ग्यास आपूर्ति केन्द्रमा विस्फोट भएको पुष्टि गरेको हो। कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगोलाई नियन्त्रणमा लिन आपत्कालीन उद्धार टोलीहरू तुरुन्तै परिचालन गरिएको थियो र अहिले आगो नियन्त्रणमा आइसकेको छ।’
मार्च महिनादेखि रोकिएको काम कामदारहरूले पुनः सुरु गर्ने क्रममा यो विस्फोट भएको हो। यसअघि अमेरिका-इजरायल र इरानबिचको युद्धका क्रममा भएको आक्रमणका कारण यो बन्दरगाहमा व्यापक क्षति पुगेको थियो। कतारइनर्जीका अनुसार उक्त क्षतिको मर्मतका लागि तीन देखि पाँच वर्ष लाग्नेछ र यसले एलएनजी उत्पादनमा १२.८ मिलियन टन कटौती गर्नेछ। कतारले यसअघि द्वन्द्वका कारण विश्वको कुल एलएनजी आपूर्तिको पाँचौँ हिस्सा रोकेको भए तापनि हालैका दिनहरूमा ढुवानी पुनः सुरु हुन थालेको थियो।
अर्थ चाैतारी ।