काठमाण्डौ । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बिएसएच होम अप्लायन्सले नेपालमा आफ्नो बजार विस्तारलाई तीव्र बनाएको छ । कम्पनीले नेपालको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपसँगको सहकार्यमा ललितपुरको जावलाखेलमा पहिलो ‘बोस ब्रान्ड स्टोर’ (Bosch Brand Store) सञ्चालनमा ल्याएको हो ।
प्रिमियम होम अप्लायन्स बजारमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिअनुरूप नयाँ ब्रान्ड स्टोरको औपचारिक सुरुवात गरिएको कम्पनीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नयाँ स्टोरमा उपभोक्ताले बोसका प्रिमियम रेफ्रिजेरेटर, लन्ड्री, डिशवासर र बिल्ट-इन किचन समाधानहरू प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन् ।
सहरीकरण र बदलिँदो जीवनशैलीका कारण नेपालमा प्रिमियम एवं प्रविधिमैत्री उपकरणको माग तीव्र रूपमा बढिरहेका बेला बोसले नेपालमा आफ्नो रणनीतिक लगानी बढाएको हो । विशेष गरी नेपालको लन्ड्री बजारमा फ्रन्ट-लोड वासिङ मेसिनको हिस्सा ७० देखि ८० प्रतिशत रहेको भन्दै कम्पनीले यस क्षेत्रमा ठूलो व्यावसायिक सम्भावना देखेको जनाएको छ ।
बिएसएच होम अप्लायन्स इन्डियाका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) सैफ खानले नेपाल उपभोक्ता विकासको उत्साहजनक चरणमा रहेको उल्लेख गर्दै लक्ष्मी ग्रुपसँगको सहकार्यबाट नेपाली बजारमा दिगो वृद्धिको बलियो आधार निर्माण हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पाँच दशकदेखि विश्वस्तरीय प्रविधि नेपाली उपभोक्तामाझ पुर्याउँदै आएको स्मरण गर्दै गुणस्तर र विश्वसनीयताका लागि परिचित बोस ब्रान्डसँगको साझेदारीलाई थप मजबुत बनाउन पाउँदा खुसी लागेको बताए ।
हाल नेपालभर ७० भन्दा बढी डिलर पार्टनर र २० वटा मोडर्न ट्रेड आउटलेटको सञ्जाल रहेको बोसले आगामी दिनमा रिटेल एक्सीलेन्स, उपभोक्ता शिक्षा र उच्च गुणस्तरीय बिक्रीपछिको सेवा (आफ्टर-सेल्स सर्भिस) मार्फत नेपालको सबैभन्दा विश्वसनीय प्रिमियम ब्रान्ड बन्ने लक्ष्य राखेको छ ।

अर्थ चाैतारी ।