काठमाण्डौ । आज देखि अरुण काबेली पावर कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गरेको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ गत असार २५ गते बुकक्लोज गरेको थियो । त्यसैले असार २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयर खरिद गर्न पाउने छन् । सेयरधनीहरुले कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीको हकप्रदमा सेयरधनीहरुले नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्दछ ।
अर्थ चाैतारी ।