काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ बिक्री गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरका २९ लाख २५ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख ९२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ५८ हजार ५ सय कित्ता कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा भदौ २५ गते र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
अर्थ चाैतारी ।