काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले ८७ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । शुक्रबार सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८.१३ प्रतिशत वृद्धि भएको हो । गत वर्षको यसैअवधिमा बैंकले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३.३४ प्रतिशतले बढेर ३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको सञ्चालन नाफा पनि ९.४७ प्रतिशतले बढेर १ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब १५ करोड ३१ लाख रुपैयाँ थियो । बैंकको निष्क्रिय कर्जा १.९९ प्रतिशतबाट बढेर २.०२ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । बैंकको रिजर्भ कोषमा भने ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा १ करोड २ लाख ८६ हजार रुपैयाँ छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ २५ पैसाले बढेर १६ रुपैयाँ ५ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २५ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ भने १४३ रुपैयाँ ४८ पैसा रहेको छ । बैंकले चैत मसान्तसम्म १ खर्ब १० अर्ब ४० करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेर ९२ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।