काठमाण्डौ । ढोरपाटनका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, बागलुङले आदेश दिएको हाे ।
जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । इमेज बचत तथा ऋण सहकारी संस्थाकाे रकम अपचलन गरेकाे आराेपमा नेपाली शुक्रबार भारतकाे दिल्लीमा पक्राउ परेका थिए । उक्त सहकारीकाे उनी अध्यक्षसमेत हुन् ।
लामो समयदेखि फरार रहेका उनलाई प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतबाट नेपाल ल्याई जिल्ला अदालतमा सोमबार बुझाएको थियो । नेपालीकाे बयान साेमबार नै सकिएकाे अदालतले जनाएकाे छ । मंगलबारकाे थुनछेक बहसपछि नेपालीलाई कारागार चलान गरिएकाे हाे ।
यस्तै, उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने अदालतले एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । मेयर नेपालीविरुद्ध १ हजार ५७३ जनाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ। अहिलेसम्म मेयर देवकुमार र उनकी पत्नी छेलाविरुद्ध बिगो एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ रहेको जनाइएकाे छ ।
देवकुमारसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय, बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले मेयर देवकुमार र उनकी पत्नीविरुद्ध इन्टरपोलमार्फत २४ जनवरी २०२४ (१० माघ २०८०) मा रेड नोटिससमेत जारी गराएको थियो।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times