काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा (लाभांश क्षमता) २६.४५ प्रतिशतले बढाएर ७७ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो।
बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७२ करोड रुपैयाँबाट ६ अर्ब ३६ करोड रुपैयाँमा ११.२० प्रतिशतले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी पनि ७ अर्ब ५ करोड रुपैयाँबाट ८ अर्ब १२ करोड रुपैयाँमा १५.१३ प्रतिशतले बढेको छ।
तर, बैंकको खुद नाफा सामान्य रूपमा १ अर्ब ३२ करोड रुपैयाँबाट १ अर्ब २९ करोड रुपैयाँमा २.०८ प्रतिशतले घटेको छ। सञ्चालन नाफा पनि २ अर्ब ४ करोड रुपैयाँबाट २ अर्ब रुपैयाँमा झरेको छ। यसैअनुसार, प्रतिशेयर आम्दानी (ईपीएस) ९.३० रुपैयाँबाट घटेर ८.७६ रुपैयाँमा आएको छ।
चुक्ता पूँजी १४ अर्ब ७६ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८७ करोड ९३ लाख रुपैयाँ र रिजर्भमा ७ अर्ब १४ करोड रुपैयाँ सञ्चिती रहेको छ।
बैंकले १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन २ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। खराब कर्जा दर ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ।
अर्थ चाैतारी ।